मलेसिया, भदौ २७ – नेपाल सहित २४ देशका उत्पादनको प्रवद्र्धन गर्न मलेसियामा ‘इन्टरनेशनल क्राफ्ट फेस्टिबल’  चलिरहेको छ  । नेपालका उत्पादनहरु यसरी पहिलो पटक मलेसियामा स्टल राखेर प्रवद्र्धन गरिएको हो । मेलामा नेपाली उत्पादनका १२ वटा स्टल छन् ।  

नेवारी पोशाकमा सजिएर तामाको पातामा मण्डला बनाउँदै गरेका प्रचण्ड  शाक्य मेलामा सहभागीले नेपाली उत्पादन निकै चाख लिएर हेर्ने गरेको बताउनुहुन्छ ।प्रचारप्रसारको कमीले नेपाली उत्पादनको सोचेजति बिक्री हुन नसकेको नेपाली व्यवसायीले बताए ।  मेलामा नेपाली कागजबाट बनेका सामानको स्टल  राख्नुभएकी व्यापारी  कलावती राई  भन्नुहुन्छ  ‘हेर्न र सोध्न त आउँछन् तर किन्नै भने थोरै मात्र आउने गरेका छन् ।’ नेपाली स्टलमा प्रायः गरी हातले बुनेका भगवान गौतम बुद्ध तथा हिन्दु देवताहरु अंकित थान्काका स्टल छन् ।
मलेसिया मुस्लिम राज्य भएर  नै थान्काको व्यापार राम्रोसँग हुन नसकेको थान्का व्यापारीको बुझाई छ । फरक फरक देशको संस्कृति झल्कने नृत्य तथा अन्य प्रस्तुती मेलाको आकर्षक बनेको छ  । लाखे नाच, कुमारी नाच, शेर्पा नाच तथा नेपालको विभिन्न संस्कृती झल्कने प्रस्तुती अवलोकनकर्ताले चासोका साथ हेरेको नेपाली कलाकारले बताएका छन् । ‘यसरी नै नेपाली संस्कृति विश्वभर प्रदर्शन गर्नसके नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुग्दछ ।’
मेलामा शेर्पा पोशाकमा सजिएका एक कलाकार रोमन जोसीले  भन्नुभयो ‘मलेसियामा हाम्रो प्रस्तुति धेरले रुचाए राम्रो प्रतिक्रिया दिए, यसले हामीमा झन हौसला बढाएको छ । वर्ल्ड क्राफ्ट काउन्सीलले आयोजना गरेको मेलामा नेपाली उत्पादनको व्यापार भन्दा पनि प्रवद्र्धन गर्ने लक्ष्यले मेलामा सहभागी भएको हस्तकला महासंघ नेपालका पूर्व अध्यक्ष पुष्करमान शाक्यले बताउनुभयो ।

Post a Comment

 
Top