भदौ २७ – अमेरिकामा एउटा कुखुरा टाउको काटिएपनि पनि १८ महिनासम्म बाँच्यो । माइक नाम गरेको कुखुरा त्यसपछि मिराकल माइकको नामबाट चर्चित भयो । यो घटना आजभन्दा ७० वर्ष पहिलेको हो । अमेरिकाको कोलोराडोको फ्रुटा सहरमा अहिले पनि त्यो कुखुराको सम्झनामा हरेक वर्ष ‘हेडलेस चिकेन’ महोत्सव मनाइन्छ । सन् १९४५ को सेप्टेम्बर १० मा लोयल ओल्सेन नामका एक किसान र उनकी पत्नी क्लारा आफ्नो फार्ममा भएका ४०/५० कुखुराहरु काट्दै थिए । त्यो मध्ये एउटा कुखुरा भने टाउको काटिएपछि पनि दौडियो । अचम्ममा परेका उनीहरुले त्यो कुखुरालाई एउटा टोकरीमा बन्द गरेर राखे । भोलिपल्ट हेर्दा समेत कुखुरा जिउँदो थियो ।
त्यसपछि कोलोराडो शहरभरी कुखुराको चर्चा चल्यो । टाउको काटिएपछि उनीहरुले त्यो कुखुरालाई सिरिन्ज मार्फत खानेकुरा खुवाउन थाले । यो घटना थाहा पाएर यूटा विश्व विद्यालयका वैज्ञानिकले टाउको काटिएपछि पनि कुखुरा कसरी बाँच्यो भन्ने पत्ता लगाउन अरु धेरै कुखुराको टाउको काटेको बताइन्छ । यो सबै घटनाको वर्णन गरी किसान क्लाराले लेखेको डायरी अहिलेसम्म पनि अमेरिकामा सुरक्षित  छ । त्यही एउटा कुखुराले उनीहरुको आर्थिक स्थिति निकै सुधारियो ।

कसरी बाँच्यो टाउकै नभै कुखुरा ?

न्युक्यासल युनिभर्सिटीको सेन्टर फर विहेभियर एंड इभोलुसनमा कार्यरत डा. टम स्मल्डर्सका अनुसार कुखुराको पुरा टाउको आँखाको कंकाल भन्दा पछाडिको भागमा हुने गर्दछ ।
रिपोर्टका अनुसार माइक नामको त्यो कुखुराको चुच्चो, अनुहार र आँखा निस्किएको भएपनि त्यसको मस्तिष्कको ८० प्रतिशत भाग बचेको हुँदा शरीर, धड्कन, सास र पाचन प्रणाली चलिरहेको थियो ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top