काठमाडौं, भदौ १९ – स्वास्थ्य क्षेत्रका विकृति विसंगती हटाउन भन्दै डा. गोविन्द केसीले  अनशन बसेको १३  दिन भैसकेको छ । सरकार आफैले गठन गरको माथेमा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्न माग गर्दै शिक्षण अस्पतालमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
एमबिबिएस पढ्न ३५ लाख रुपैयाँ भन्दा बढी लिन नपाइने, १० वर्षसम्म काठमाडौंं उपत्यकामा नयाँ मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा मेडिकल कलेजले प्रतिवर्ष एक सय भन्दा धेरै विद्यार्थी एमबिबिएस पढाउन नपाउने जस्ता सुझाव माथेमा प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भएका सुझाव कार्यान्वयन मात्र होइन नयाँ संविधानमा गरीब दुखीले पनि सहजै स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारमा मुछिएका कर्मचारीको छानविन हुनुपर्ने लगायतका माग पनि डा. केसीले उठाउनुभएको छ ।
तर मेडिकल कलेज सञ्चालक भने डा. केसीको आन्दोलनलाई नौटंकीको संज्ञा दिइरहेका छन् । मनमोहन मेमोरियल कजेलका प्रमुख राजेन्द्र पाण्डे भन्नुहुन्छ ‘संसारका कुनै पनि देशमा सरकारले गठन गरेको कार्यदलले दिएका सुझाव अक्षरस पालन भएका छैनन् ।’ डा. केसीले अनशनलाई सरकार धम्काउने पेशाको रुपमा दुरुपयोग गरेको पाण्डेको आरोप छ ।
माथेमा प्रतिवेदनमा भएका कुरा सबै कार्यान्वयन भएमा नेपालका सबै निजी मेडिकल कलेजको अर्बौं लगानी डुब्ने भन्दै पाण्डेले भन्नुभयो ‘निजी कलेज  भनेको त स्वभावैले केही नाफा कमाउन खुलेका हुन्, केही वर्ष पहिले सरकारले नै ३५ लाख रुपैयाँ तोकेको थियो, अब तपाईं भन्नुस् हाम्रा कर्मचारी कसले पाल्छ र बैंकको ऋण कस्ले तिर्छ ?’
केहीवर्ष पहिले सरकारले नै काठमाडौंमा मेडिकल कलेज खोल्न दिएको तर अहिले सरकारले नै काठमाडौंमा अब मेडिकल कलेज खोल्न पाईंदैन भन्नु मुर्खता भएको पाण्डेको आरोप छ । उहाँले भन्नुभयो ‘सरकारले मेरो मेडिकल कलेजमा पांग्रा लगाएर धादिङ लगिदियोस्, म उतै कलेज चलाउँछु, काठमाडौंमा करोडौंको घर जग्गा जोडेर सय शैयाको अस्पताल अब मैले कहाँ लगेर चलाउने ?’
निजी क्षेत्रको व्यापार शहरी क्षेत्रमा मात्रै मौलाउने भन्दै उहाँले  भन्नुभयो ‘भाटभटेनी सुपरमार्केटले अहिले मात्रै काठमाडौंमा ५ वटा शाखा किन खोल्यो भन्नु र दूरदराजमा किन मेडिकल कजेल खोलिनस् भन्नु एउटै हो ।’ जहाँ धेरै जनसंख्या छ, त्यहीँ मात्र मेडिकल कलेज चल्ने भएकाले काठमाडौंमा मेडिकल कलेज खोलेको भन्दै पाण्डेले दूरदराजका गाउँमा सित्तैमा सेवा दिने काम सरकारको भएको जिकिर गर्नुभयो । 
सरकारले माथेमा प्रतिवेदनमा भएका सबै सुझाव कार्यान्वयन गर्‍यो भने तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नमा आक्रोशित हुँदै पाण्डेले भन्नुभयो ‘के केसीसँग मात्रै हतियार छ ? हामीले केही गर्न सक्दैनौैं ? केसीले सरकारलाई झुकाउँछन् भने हामी पनि झुकाउन सक्छौं ।’
मेडिकल कलेज पढ्न चाहने नेपाली विद्यार्थीलाई विदेशिन बाध्य पार्ने षडयन्त्रमा डा. गोविन्द केसी लागेको पनि राजेन्द्र पाण्डेको आरोप छ । उहाँको विचारमा एमबिबिएसमा एक सय वटा मात्रै कोटा तोक्नु भनेको वर्षेनी दुई हजार विद्यार्थी र १६ अर्ब रुपैयाँ विदेश पठाउनु हो  । पाण्डेले भन्नुभयो ‘केसीका माग सरकारले खुरुखुरु मान्दै जाने हो भने कुनैदिन मैले भनेकै मान्छे शिक्षामन्त्री हुनुप¥यो भनेर उहाँ अनशन बस्न बेर छैन ।’

Post a Comment

 
Top