काठमाडौं, भदौ १९ – भगवान कृष्णको पूजाआराधना गरी आज श्रीकृष्णाष्टमी मनाईंदैछ । कृष्णको प्रसँग आउने बित्तिकै उनले गरेका लिलाहरुको पनि चर्चा हुन्छ । धर्मशास्त्रहरुका अनुसार श्रीकृष्ण लिलाको वर्णन गरेर साध्यै छैन ।
धर्मशास्त्रका अनुसार भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयौं बाल लिला रचाएका थिए । कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए । कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए । कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए।
  • एकदिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन् । भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए । तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नको लागी छोटा पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दुस्खी भएर अब के गरुँ भनेर बिचार गर्न लागिन् । त्यो देखेर आमालाई दुःख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए । तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफूले दही मथ्ने काम गर्न थालिन् । त्यसपछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए । रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे । रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले । तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफूले यो सबै काम गरेको बताए । त्यसपछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्गतिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए ।
  • भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे । यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ । यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन् । भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन् । यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन् । तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए । भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे । यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो । मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे । त्यसपछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए । तर कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए । यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए । यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन् ‘तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा होरु मेरो कान्हैया त आज बिहानै देखि घर मै छ ।’ यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो । सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए ।
  • कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थिन् । राधा कृष्णमा मोहित थिईन् भने कृष्ण राधामा मोहित थिए । राधा जी सँधै गोठमा गाई दुहुन जाँदा कृष्णलाई बोलाउने गर्थिन् । एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधिकाकी सखीहरूले देखे । तब राधिकालाई जिस्काउन लागे । यो देखेर राधिका आफूलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन् । राधिकाका सखीहरूले उनलाई कृती भएको ठाउँमा लगे । यसरी राधिका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन् । सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन । त्यसपछि एक राधिकाकी एक सखीले अन्दाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन् । कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफू मुरली बजाउन लागे । मुरलीको धुन सुन्दै राधालाई होस् आयो । मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरिरहन्थे।
  • एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए । भगवान श्रीकृष्ण पनि गोपीहरूको आफु प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए । तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे । श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए । उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले । यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे । मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे । गोपीहरू भित्री मनमा कृष्ण प्रति प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले । कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए । यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने । गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले । तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।

Post a Comment

 
Top