काठमाडौं, भदौ १९ – आज भाद्र कृष्णाष्टमी,
भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ ।
ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने
गरिन्छ ।
द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण
अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको
जनविश्वास छ । मामा कंस लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि
वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको
जन्म भएको धार्मिक विश्वास छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले
पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं
वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका
कृष्णले गोपिनी र राधासँग गरेको प्रेमप्रसंगका कारण यो महिना प्रेमोत्सव
अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट
मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा
श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा
रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।
कौरव र पाण्डवकाबीचमा कुरुक्षेत्रमा भएको
धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका
रुपमा कृष्णले युद्धको शिक्षा थिए । मानव जातिलाई सुरक्षित पारी धर्मको
रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी
प्रवृत्तिलाई अन्त्य गरेका थिए ।
पर्वको अवसरमा ललितपुर पाटनको
मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम,
बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित
पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा पूजा आराधना
गर्नेको बिहानैदेखि भिड लागेको छ । विभिन्न स्थानमा रथयात्रा तथा
शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिन महिलाहरू व्रत बसी राति कृष्ण
जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको
भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल
प्राप्त हुने धार्मिक विश्वास छ ।
Post a Comment