काठमाडौं, भदौ २२  - मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध वर्षमुनिको महिला पुरुष दुवै सहभागी मिक्स चौध वर्षमुनि फुटबल बुधबारदेखि मध्यपुरको मैदानमा हुने भएको छ ।
त्यस अवसरमा दुईदिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन हुनेछन् । दुईदिने भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना हुनेछ ।
यही भदौ २४ र २५ मा ज्याम्बोरीको आयोजना हुनेछ भने त्यसअघि भदौ २२ र २३ मा प्री ज्याम्बोरी हुनेछन् । यस भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्प प्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, सर्वसाधारण तथा प्रशिक्षक छनोट गरी कुल एक सयको सहभागिता गराइने आयोजकले जनाएका छन् ।
कार्यक्रमको लागत कुल रु ६ लाख ५० हजार रहेको र कार्यक्रममा विभिन्न जिल्लाका फुटबल सङ्घको सहभागिता रहेको आयोजकले बताएका छन् । अन्तर्राष्ट्रिय संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले राइट टू प्लेको सहायताबाट युवा तथा प्रशिक्षकलाई फुटबलको माध्यमबाट समाज, समुदाय र राष्ट्रलाई सचेतना जगाउने उद्देश्यका साथ भेला आयोजना गरिएको मर्सी कोरका प्रबन्धक नवीन लामिछानेले बताउनुभयो ।
भेलामा हुने मिक्स फुटबल प्रतियोगितामा चौध वर्षमुनि उमेर समुहको खेलको एक टोलीमा आठ महिला र आठ पुरुष गरी कुल १६ खेलाडी रहने मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो ।

Post a Comment

 
Top