जनकपुर, भदौ २२ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले जनकपुरमा फेरि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्ला सरकारी कार्यालय वरपर मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले अधिकांश  सरकारी कार्यालय भएको क्षेत्र जनकपुरको कदमचोकदेखि मुरलीचोक, भुतनाथ मन्दिरदेखि जिल्ला अदालतसम्म र लेखाकोश नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालयसम्मको दायाँबायाँ पँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । त्यस्तै जिल्ला भन्सार कार्यालय भएको क्षेत्र भानुचोकदेखि रेल्वेस्टेशनसम्मको क्षेत्रमा समेत निषेधाज्ञा जारी गरेको उहाँले जानकारी दिनुभयो ।
सीमांकनको विरोधमा आन्दोलमा रहेका संयुक्त लोकतान्त्रिक मधेसीमोर्चा र संघीय मधेसी मोर्चाको उग्रबन्दै गएपछि निषेधाज्ञा जारी गरेको हो ।  मोर्चाले सोमबार जनकपुरमा लाठी जुलुश प्रदर्शनको क्रममा नेपाली कांग्रेस धनुषाको कार्यालयमा आगजनी गरेको र नेकपा एमालेको कार्यालयमा आगजनी गर्न खोजेकाले निषेधाज्ञा जारी गरिएको हो ।
यस अघि प्रशासनले गएको बुधबार दिउँसो १२ बजेदेखि अनिश्चित समयको लागि लगाएको निषेधाज्ञा कृष्णाष्टमी पर्वलाई ध्यानमा राखेर शुक्रबार दिउँसो १ बजे फिर्ता लिएको थियो ।

Post a Comment

 
Top