ओखलढुंगा, भदौ २५ – प्रकोपसँगै सामाजिक रूपले समेत उच्च जोखिममा रहेका ओखलढुंगाका चार हजार बालबालिकाहरुलाई विभिन्न संस्थाहरुले सहयोग गरेका छन् ।  युनिसेफ नेपालको आर्थिक सहयोगमा १८ वर्षमुनिका ती बालिकाले शैक्षिक सामग्रीसँगै नगद सहयोग वितरण शुरु भएको छ । 
महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको संयोजनमा विभिन्न संघ संस्थाले सहयोग गरेका हुन् । १२ वैशाखमा गएको भूकम्पपछि जिल्लामा रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने काम भइरहेको छ । संकलित तथ्यांकबाट जोखिममा रहेकाको पहिचान गरी सहयोग दिन थालिएको जिल्ला बालअधिकार अधिकृत झम्केश्वर ओझाले बताउनुभयो । 
खासगरी बाबुआमासँग अलग्गिएको, अभिभावक बितेका, सडक बालक, बालमजदुर, अपांग बालबालिकालाई पहिलो प्राथमिकताका साथ सहयोग दिइने छ । हालसम्म ‘एकीकृत स्रोत व्यवस्थापन समिति’ ले संकलन गरेको तथ्यांक अनुसार जिल्लाभित्र १८ वर्षमुनिका चार हजारभन्दा बढी बालबालिका रहेका छन् । 
युनिसेफको सहयोगमा जिल्लाको विभिन्न गाविसको १६ स्थानमा बालमैत्री स्थलसमेत सञ्चालन भइरहेको महिला तथा बालबालिका कार्यलयका प्रमुख प्रवला श्रेष्ठले बताउनुभयो । हाल विभिन्न संघसंस्था मार्फत तत्काल सहयोग दिइए पनि जोखिमताको अवस्थालाई विश्लेषण गरी आगामी दिनमा महिला बालबालिका कार्यालयले सहयोग गर्ने श्रेष्ठको भनाई छ ।
सहयोग अन्तर्गत बालमैत्री स्थलका बालबालिकालाई विद्यालय पोशाक, रुमाल, लुगा धुने साबुनलगायत सहयोग वितरण भइरहेका छन् । उच्च जोखिमका बालबालिकालाई भने पाँच हजार बराबरको नगद वा आवश्यक सामग्री वितरण गरिने छ ।

Post a Comment

 
Top