काठमाडौं, असोज १ – संविधानसभाबाट पारित भएको ‘नेपालको संविधान २०७२’ मा सभासदहरुले हस्ताक्षर गर्ने काम भैरहेको छ । बिहान ९ बजेदेखि संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा हस्ताक्षर सुरु भएको हो । 

हस्ताक्षर दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गर्नुहुनेछ । संविधानको प्रतिलाई पर्सि ३ गते बेलुकी ५ बजे संविधानसभामा हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति समक्ष सभाध्यक्षले पेश गर्नुहुनेछ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली नागरिक समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुहुनेछ । घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखिने छ भने अरु एकप्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।  प्रमाणिकरण सकिएपछि संविधानको किताब छाप्ने काम पनि आजैदेखि सुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आइतबार सबै सभासद र संविधानसभा भवनमा आमन्त्रित पाहुनालाई पुग्नेगरी सुरुमा किताब छापिनेछ । त्यसपछि बजारमा पठाउने तयारी छ ।   

Post a Comment

 
Top