काठमाडौं, भदौ २७ – संविधानसभा बैठक सुरु हुनुअघि मुख्य तीन दलले असन्तुष्ट दलसँग वार्ताको लागि पहल थालेका छन् । आज आइतबार बिहान साढे ११ बजे संविधानसभा बैठकअघि मधेसी मोर्चा लगायतका दलसँग वार्ताको प्रयास भैरहेको नेताहरुले बताएका छन् ।

आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन संविधानसभामा स्थगित संविधान निर्माण प्रक्रिया सुरु हुन लागेको छ । संविधानसभा सचिवालयले संविधान विधेयकलाई मतदानमा लैजाने अन्तिम तयारी गरेको छ ।
प्रक्रिया गएको शुक्रबार नै सुरु गर्ने तयारी भएपनि आन्दोलनरत दललाई वार्तामा ल्याउनको लागि तीन दलको निर्णय अनुसार आजसम्म स्थगित गरिएको थियो । तर शनिबार दिनभर तीन दलका नेताहरुले प्रयास गरेपनि असन्तुष्ट मधेसी मोर्चासँग औपचारिक वार्ता हुन सकेको छैन । संविधान निर्माण प्रक्रिया बहिष्कार गरेकामध्ये राप्रपा नेपालले प्रक्रियामा फर्कने निर्णय गरिसकेको छ ।
यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि सकारात्मक छलफल भैरहेको तीन दलका नेताहरुले बताएका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेतृत्वको संघीय मधेसी मोर्चाले वार्ताबारे औपचारिक निर्णय लिन पार्टीको बैठक बोलाएको छ । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले वार्ताको वातावरण बनाउन भन्दै वार्ता टोली गठन गरेको छ ।
तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई–मधेश सद्भावना पार्टी पनि अझै वार्तामा बस्न तयार भएका छैनन् । संविधानसभा बैठक बस्नुअघि सबै दलसँग वार्ताको लागि पहल भैरहेको तीन दलका नेताहरुले बताएका छन् ।
आन्दोलनरत दल वार्तामा नआए आजैदेखि प्रक्रिया सुरु गर्ने संविधानसभा सचिवालयको तयारी भएपनि मुख्य तीन दलकै केही नेताहरुले वार्ताको वातावरण बनाउन आवश्यक परे केही दिन प्रक्रिया लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति डाक्टर रामवरण यादवले पनि असन्तुष्ट दललाई समेट्न संवादलाई निरन्तरता दिन सल्लाह दिनुभएको छ । तर तीन दलले प्रक्रिया लम्ब्याउने निर्णय गरेनन् भने संविधान विधेयकलाई आइतबारदेखि मतदानमा लैजाने संविधासभा सचिवालयको तयारी छ ।
सचिवालयका अनुसार बैठकको सुरुमा दलका शीर्ष नेताहरुलाई बोल्न दिएर प्रक्रिया अघि बढाइनेछ । प्रक्रिया सुरु भयो भने नयाँ संविधानको मस्यौदा विधेयकमा परेका संशोधन प्रस्तावलाई सुरुमा ध्वनिमतमा लगिनेछ । त्यसपछि संविधानका सबै धारालाई एक/एक गरेर पारित गरिनेछ । त्यसपछि संविधानको अन्तिम विधेयक तयार हुन्छ ।
अन्तिम विधेयकलाई संविधानसभामा कायम रहेका सभासद संख्याको दुई तिहाई मतले पारित गर्नुपर्ने प्रावधान छ । मुख्य तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीले आइतबारको बैठकमा अनिवार्य उपस्थित भएर पार्टी निर्णय अनुसार मतदान गर्न आआफ्ना सभासदलाई निर्देशन दिइसकेका छन् ।

Post a Comment

 
Top