काठमाडौं, भदौ २७ - संविधानसभाले यो महिनाभित्र संविधान घोषणा गर्ने पक्का जस्तै भएको छ । दुई दिन प्रक्रिया स्थगित गरेपनि आन्दोलनरत मधेसी दल वार्तामा नआएपछि मुख्य तीन दलको सहमति अनुसार संविधानसभामा प्रक्रिया सुरु भएको छ ।

आइतबार बेलुकी ५ बजे प्रक्रिया सुरु हुनुअघि संविधानसभा बैठकमा बोल्दै मुख्य तीन दलका शीर्ष नेताहरुले सबै असन्तुष्ट दलहरुको माग सम्बोधन गर्नेगरी संविधान आउने र अहिले समेटिन नसकिने विषय पछि पनि संशोधन गर्न सकिने प्रतिबद्धता जनाएका छन् । तीन दलले मधेसी दलको माग अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको विधेयकमा आवश्यक संशोधन गर्ने निर्णय गरेका छन् ।
संविधानसभा बैठकमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई सरकारले उचित राहत दिने र घाइतेको उपचार गर्ने प्रतिबद्धता जनाउनुभयो । आन्दोलनरत मधेसी दलले उठाएको माग सम्बोधन हुनेगरी नै प्रधानमन्त्री लगायत मुख्य तीन दलका शीर्ष नेताहरुले संविधानसभामा सम्बोधन गरेका छन् । 
शीर्ष नेताहरुले सम्बोधन सकिएलगत्तै आइतबार बेलुकी नै संविधानसभामा मतदान प्रक्रिया सुरु हुनेछ । बैठकमा संविधानको परिमार्जित विधेयकमा परेका संशोधन प्रस्तावमाथि छलफल हुनेछ । प्रक्रिया अनुसार संविधानको मस्यौदा विधेयकमा परेका संशोधन प्रस्तावलाई सुरुमा ध्वनिमतमा लगिनेछ । त्यसपछि संविधानका सबै धारालाई एक-एक गरेर पारित गरिनेछ । त्यसपछि संविधानको अन्तिम विधेयक तयार हुन्छ । अन्तिम विधेयकलाई संविधानसभामा कायम रहेका सभासद संख्याको दुई तिहाई मतले पारित गर्नुपर्ने प्रावधान छ ।
५४ वटा संशोधन प्रस्ताव दर्ता भएका र एउटा प्रस्तावमा पनि धेरै धारा, उपधारामा संशोधन परेकाले एउटाको निर्णय गर्न पनि धेरैबेर लाग्नेछ । यस हिसाबले सबै संशोधन प्रस्तावको टुंगो कतिबेरमा लाग्छ भनेर यसै भन्न सकिंदैन । त्यसमाथि संविधानसभा बैठक कतिबेर सञ्चालन गरिन्छ भन्ने कुरामा पनि भर पर्छ । आइतबारको बैठक कुनबेलासम्म सुरु हुन्छ भनेर संविधानसभा सचिवालयले समय निर्धारण गरिसकेको छैन । आइतबार अबेरसम्म बैठक बस्यो र सोमबार पनि दिनभरी चल्यो भने सोमबार रातीसम्म या नभएपनि यो महिनाभर संविधान घोषणा गर्ने संविधानसभा सचिवालयको तयारी छ ।

Post a Comment

 
Top