महेन्द्रनगर, भदौ २६ - प्रहरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार कञ्चनपुरको बेलौरीमा गरेको विरोध सभामा घरेलु हतियारसहित ४ जनालाई  पक्राउ गरेको छ । प्रहरीले सभामा घरेलु हतियार चक्कु, गुलेली, मट्याङ्ग्रासहित सहभागी हुन खोजेको भन्दै ४ जनालाई पक्राउ गरेको हो ।
आमसभामा घरेलु हतियारसहित सहभागी हुन खोजेका बेलौरी नगरपालिका ८ का २३ वर्षिय दिपेश चौधरी र वडा नम्बर ५ का १८ वर्षिय सुरेश रानालाई चक्कुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । बेलौरी नगरपालिका ३ का २१ वर्षिय सुरेश चौधरी, वडा नम्बर ४ का ३५ वर्षिय लक्ष्मण चौधरीलाई गुलेली र मट्यांग्रासहित पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका चारैजनालाई शुक्रबार राती जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लगिएको छ । 
थरुहट थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार कञ्चनपुरको बेलौरीमा विरोध सभाको आयोजना गरेको थियो । सभालाई थरुहट तराई पार्टीका केन्द्रीय सदस्य भानुराम चौधरी, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, आदिवासी जनजाति राष्ट्रिय महासंघका पूर्वअध्यक्ष डा. ओम गुरुङलगायतले सम्बोधन गरेका थिए । 
संविधानमा कञ्चनपुर र कैलालीसहितको थारुवान प्रदेश बनाउनुपर्ने आफुहरुको माग रहेको भन्दै पहाडी समुदायसँग आफूहरुको लडाई नभई अधिकार प्राप्तिका लागि राज्यसँगको लडाई भएको उनीहरुले बताएका छन । प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले समस्या समाधानका लागि गम्भीरता नदेखाएकै कारण अहिले देशभैर अशान्ति भइरहेको उनीहरुको भनाई छ । 
आमसभालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीले आमसभास्थलमा सहभागी हुनेलाई चेकजाँच गरेर मात्र प्रवेश गर्न दिएका थिए ।

Post a Comment

 
Top