म्याग्दी, भदौ २४ – हिमालपारीको जिल्ला मुस्ताङमा बन्यजन्तु जनावर हिउँ चितुवाको आतङ्क फैलिएको छ । उपल्लो मुस्ताङको चराङ १ मराङगाउँमा मध्यरातको समयमा हिउँ चितुवा गोठमा गएर किसानले पालेका च्याङ्ग्रालाई आक्रमण गर्न थालेपछि आतङ्क बढेको हो । 
गाउँको नजिकै रहेको पेमाछेतेन गुरुङको गोठमा आइतबार र सोमबार राति आएका हिउँ चितुवाको समूहले १०४ ओटा च्याङ्ग्राहरु मारेका छन् । चितुवाले ठूलो संख्यामा च्याङ्ग्रा मारिदिएपछि गाउँका सबै त्रसित बनेका छन् । 
 आइतबार राती ७ र सोमबारको रातमा ९७ वटा च्याङ्ग्रा मारेको पीडित किसान पेमाछेतेन गुरुङले जानकारी दिनुभयो ।
‘अहिलेसम्म यस्तो भएको थिएन, दशैं तिहारलाई भनेर पालेर राखेको सबै च्याङ्ग्रा चितुवाले मारिदियो’ उहाँले भन्नुभयो । झण्डै पाँचवटा हिउँ चितुवाले ती च्याङ्ग्राहरु मारेको स्थानीयबासिन्दाले अनुमान गरेका छन् ।
आक्रमण गरेको भोलिपल्ट किसानले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ मुस्ताङ र सीमा प्रहरीचौकीमा जानकारी गराएपछि एक्यापका प्राविधिक र चौकीबाट गएको प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट २ वटा हिउँ चितुवालाई लखेटेको थियो ।  रातको ११ बजेपछिको समयमा गाउँ नजिकै रहेको जङ्गलबाट ती हिउँचितुवाको समूह बस्तीमा पसेको किसान बताउँछन् । पीडित किसानलाई राहतको व्यवस्था गर्न सम्बन्धित निकायमा सिफारीस गरिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । चरन क्षेत्रमा बाटोघाटोको विस्तार, खानेपानी व्यवस्थापन र गोठमा सोलारलाइट जडान गरिएको उहाँले जानकारी दिनुभयो । 
एक्यापले उपल्लो क्षेत्रमा विश्वबाटै दुर्लभ हुँदै गैरहेको हिउँ चितुवा संरक्षणका लागि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । एक्यापको बन्यजन्तु संरक्षणको अभियान प्रभावकारी बन्दै गएपछि पछिल्लो समय हिउँ चितुवाको संख्या बढ्दै गएको एक्याप लोमान्थाङका प्रमुख शेरचनको भनाई छ । मानव र बन्यजन्तुबीचको द्वन्द्व कम गर्न न्युनीकरणका प्रयास गरिएको एक्यापले जनाएको छ । 
पीडित किसानलाई राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका लागि जिल्लाबाट माथिल्लो निकायमा पहल गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनुभयो ।

Post a Comment

 
Top