Janakpur-Jhadap
वीरेन्द्र रमण
२५ भदौ, जनकपुर । धनुषाको जनकपुर क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । ३२ जना भन्दा घाइते भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गाउँगाउँबाट एक घरबाट एक जना शुक्रबार २ बजे जनकपुरमा भेला हुन उर्दी नै जारी गरेको थियो । मोर्चाको उर्दीपछि स्थानीय प्रशासनले शुक्रबार विहान ६ बजेबाट कर्फ्यू लगाएको थियो ।
तर, कर्फ्यू उल्लंघन गर्दै मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा नगर क्षेत्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास हानेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेंगासीपुरका निकुकुमार यादव र सबैलाका सञ्जय चौधरीको मृत्यु भएको हो । प्रहरीको गोली लागेर अरेरवाका दिलिप यादवको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर ३२ जना घाइते भएका छन् । उनीहरु मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले साँझ ५ बजेबाट जनकपुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन नेपाली सेना पनि खटिनेछ ।

Post a Comment

 
Top