काठमाडौं, भदौ २२ - राष्ट्रपति डा. रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्‍याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना भएकालाई टिकाउन अझै धेरै प्रयासको खाँचो रहेको बताउनुभएको छ ।
शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित नेपाल विद्याभूषण र नेपाल छात्रा विद्यापदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुणस्तरीय र व्यावसायिक शिक्षाको कमीले मुलुकमै पनि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति डा. यादवले रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पुगेका अदक्ष कामदारले कम ज्यालामा जोखिम र कठिन काम गर्नु परिरहेको बताउनुभयो ।
राष्ट्रपति डा. यादवले भन्नुभयो 'समाज र राष्ट्रको रुपान्तरण एवम् विकास गर्न र विनाशकारी भूकम्पबाट शैक्षिक क्षेत्रमा भएको अपूरणीय क्षतिको पुनर्निर्माण र पुनःस्थापना गरी युग सुहाउँदो शैक्षिक विकासका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष र साझेदार समेतको सहकार्य हुन जरुरी छ ।'
लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकतालाई सम्बोधन गर्नसक्ने दक्ष एवम् उत्पादनशील जनशक्ति विकासका लागि सबै तहमा गुणस्तरीय शिक्षाको समतामूलक पहुँच सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।
स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट लिइएका विभिन्न सङ्काय र तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र विज्ञता समृद्ध नेपाल निर्माणमा खर्च गर्न राष्ट्रपति डा. यादवले सुझाव दिनुभयो ।
त्यस अवसरमा शिक्षामन्त्री चित्रलेखा यादवले देशका सबै बालबालिकालाई स्वरोजगारमूलक र गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई सुनिश्चित तुल्याउनुपर्ने आजको आवश्यकता हो भन्नुभयो । शिक्षा विकासको मेरुदण्ड भएकाले युग सुहाउँदो शिक्षा नीति निर्माण गरी त्यसको सफल कार्यान्वयनका लागि सरोकारवाला सबैको सामूहिक प्रयत्नको खाँचो रहेकाले उहाँले अनुसन्धानकर्ता र छात्रछात्राले प्राप्त गर्नुभएको ज्ञान, कलाकौशलले मुलुकको शिक्षा क्षेत्रको विकासमा योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

Post a Comment

 
Top