बागलुङ, असार २५ -  सर्पको टोकाइबाट बागलुङमा एक किशोरको ज्यान जाँदा समेत धौलागिरी अञ्चल अस्पतालमा अझै औषधि छैन । सर्पले टोकेर आएका बिरामीहरुलाई उपचारका क्रममा दिनुपर्ने औषधि एन्टी स्नेक भेनम सर्पदंशको धौलागिरी अञ्चलमा जोखिम नभएको भन्दै नराखिएको अस्पतालले वताएको छ । 
निःशुल्क बितरण गरिने औषधि अस्पतालमा नभएपछि पछिल्लो समय सर्पदशंका बिरामीलाई सिधै पोखरा रेफर गर्ने गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले वताउनुभयो । 
बागलुङमा बिषालु सर्पको टोकाइबाट ज्यानै गएको घटना पछि सर्पदंशको औषधि तत्काल व्यवस्था गर्न स्थानीयले माग गरेका छन् । तराइका जिल्लामा हुने बिषालु सर्प तराईबाट लिइने पाइप, रड लगायतका सामग्री लिने क्रममा पहाडी जिल्लामा आउँदा सर्पदंशको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 
बागलुङ र धौलागिरी अञ्चल सर्पदंशको सम्भावित जोखिमयुक्त क्षेत्रमा नभएकाले सर्पदंशको औषधि अस्पतालमा राख्ने नगरिएको अस्पतालका डाक्टर सम्रात श्रेष्ठले बताउनुभयो । अब भने सर्पदंशको जिल्लामा औषधिको व्यवस्था गर्न आवश्यक देखिएको उहाँको भनाई छ । त्यसका लागि आवश्यक पहल थालिएको डा.श्रेष्ठले बताउनुभयो । 
गत मंगलवार घरमा सुतिरहेको अवस्थामा झ्यालबाट छिरेको सर्पको टोकाइबाट मालिका २ अढाइथरका १७ बर्षिय आशिक सापकोटाको ज्यान गएको थियो । सर्पले खुट्टामा टोकेपछि गम्भीर घाइते भएका सापकोटालाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा उपचार लागि ल्याइए पनि सर्पदशंको औषधि नभएकाले सामान्य प्राथमिक उपचार गरेर पोखरा रेफर गरेको तर बीच बाटोमै ज्यान गएको स्थानीय कृष्णप्रसाद आचार्यले वताउनुभयो । ‘अस्पतालमा सर्पदंशको औषधिसम्म भएको भए बचाउन सहज हुन सक्थ्यो,’ आचार्यले भन्नुभयो, ‘अब फेरि अर्को दुखद घटना हुन नदिन तत्काल सर्पदंशको औषधि व्यवस्था गर्नुपर्छ ।’
धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष टिकाराम सापकोटाले घटना पछि तत्काल आकस्मिक वैठक वसेर सर्पदंशको औषधि पठाउन माग गरिएको बताउनुभयो । ‘पहाडी क्षेत्रमा जोखिम भएकाले अहिलेसम्म आवश्यकता महुशुस नगरिएको पाइयो,’ उहाँले भन्नुभयो, ‘सर्पको टोकाइबाट ज्यानै गएको घटना पछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा औषधि पठाउन माग गरेका छौं ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top