काठमाडौं, असार २५ – नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति एक हप्ता सरेको छ । शुक्रबार बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन असोज २ देखि असोज ५ गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्म हुने तय भए पनि संविधान निर्माणमा सम्पूर्ण पार्टी पंति लाग्नू पर्ने भएकाले महाधिवेशन  एकहप्ता पर सारिएको बडूले जानकारी दिनुभयो । महाधिवेशनको मिति सरेसँगै जिल्ला नगर र क्षेत्रका अधिवेशनको मिति पनि सारिएको छ ।

पदाधिकारी बैठकले शुक्रबार गरेको निर्णयअनुसार वडा, गाविस र नगरको अधिवेशन भदौ १, निर्वाचन क्षेत्रीय अधिवेशन भदौ ७ गते र जिल्ला अधिवेशन १० गते हुने भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षले आन्तरिक तयारी पनि तीव्र पार्दै लगेका छन् ।

संस्थापन पक्षले सभापतिको उम्मेद्वार सार्वजनिक नगरे पनि देउवा पक्षबाट उहाँ आफैं उम्मेद्वार बन्ने लगभग पक्का भैसकेको छ । कांग्रेसभित्र क्रियाशिल सदस्यता वितरण सम्बन्धी देखिएको विवाद पनि विस्तारै मथ्थर हुँदै गएको छ । डेढ दर्जन जिल्लामा देखिएको विवाद अब केही जिल्लामा मात्र बाँकी रहेको छ ।

Post a Comment

 
Top