खोटाङ, असार २५– गुडिरहेको बस सडकमै पल्टिँदा खोटाङमा पाँच गम्भीर घाइते भएका छन् । लोक सेवा आयोगको परीक्षा दिन आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा ३ ख ३४४१ नम्बरको यात्रुवाहक बस बिहीबार राती बुइपास्थित पञ्चेदोबाटोमा पल्टिँदा पाँच परीक्षार्थी गम्भीर घाइते भएका हुन् । 
घाइते हुनेमा उदयपुरको साउने–३ की ३३ वर्षकी डबलकुमारी राई, सोही स्थानकी २४ वर्षकी गीता थापामगर, उदयपुर नेपालटार–४ का २४ वर्षका नेत्रबहादुर राई, भोजपूर लेकखर्क–१ का ३० वर्षकी रमा सुयल र सप्तरी तरही–१ की ३७ वर्षकी चन्द्रकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा आयोगको परीक्षा दिन आउने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् । खरेलका अनुसार घाइते सबैको टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो ।
रेग्मीटारबाट ३४ जना परीक्षार्थी चढेको बस दुर्घटना हुँदा अन्य परीक्षार्थी सामान्य प्रहरीले जनाएको छ । बस चालक सुनसरीका दलबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top