काठमाडौं, असार २६ – सरकारको नीति तथा कार्यक्रममा सत्तारुढ दलकै नेताले पनि आलोचना गरेका छन् । व्यवस्थापिका संसदमा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै पक्षसँग पर्याप्त छलफल नगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले सरकार परिवर्तन हुनेबित्तिकै सरकारको प्राथमिकता परिवर्तन हुने, अर्थतन्त्रको आधारशिला र विकासको आधारका बारेमा साझा धारणा बन्न नसकेकाले विकास प्रक्रियाले गति लिन नसकेको बताउनुभयो ।
उहाँले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सरकारले प्रष्ट योजना नल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । त्यस्तै विपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम पश्चगामी भएको टिप्पणी गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले उद्योगी व्यावसायीको पक्षमा कुनै नयाँ कार्यक्रम नभएको र कृषि क्षेत्रको विकासमा जोड नदिइएको बताउनुभयो । एकीकृत नेकपा माओवादीका सुरेन्द्र कार्कीले नागरिकको आधारभूत नीति कार्यक्रमले आवश्यकतालाई सम्बोधन गर्न नसकेको, गरिबी निवारणमा ध्यान नपुगेकोे, शान्ति र स्थायित्वको दिशामा कुनै नयाँपन नभएको धारणा राख्नुभयो ।
बैठकको सुरुमा कुनै मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको थियो । नीति तथा कार्यक्रममाथि संसदमा छलफल हुँदा कम्तिमा एकजना मन्त्री अनिवार्य उपस्थित हुनैपर्छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा सभासदले उठाएका प्रश्नमा प्रधानमन्त्री सुशिल कोइरालाले आइतबार जवाफ दिने कार्यक्रम छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top