विराटनगर, असार २६ – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संवैधानिक प्रक्रिया मिलाएर राजनीतिक सहमतिमा सीमाङ्कन पनि टुङ्ग्याउन सकिने बताउनुभएको छ ।
संविधानसभाबाट पारित ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’मा नागरिकको रायसुझाव लिएपछि परिमार्जन गर्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान जारी गर्ने विषय निर्धारित कार्यतालिकाअनुरुप नै हुने उल्लेख गर्दै कुनै कारणले ढिलो भएमा बढीमा आउँदो साउन २५ गतेभित्रै मुलुकले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।
असन्तुष्ट दललाई सहमतिमा ल्याउन प्रधानमन्त्रीलगायत अन्य दलका नेता पनि प्रयासरत रहेकाले मधेस केन्द्रित लगायत दललाई आन्दोलनको आवश्यकता नपर्ने उहाँले दाबी गर्नुभयो । आठ प्रदेशसहित प्रत्याभूत भैसकेका अवस्थामा सङ्घीयता खत्तम पारेको आरोप नलगाउन मधेस केन्द्रित दललाई आग्रह गर्दै नेता गच्छदारले संविधान निर्माणको प्रक्रियामा सहभागी हुन उनीहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रपतिबाट मस्यौदामा देखिएका कमजोरी तथा असमझदारीलाई हटाउन सबै पक्षलाई स्वीकार हुने गरी मस्यौदालाई अझ परिमार्जित गर्नका लागि सुझाव दिनुभएकाले यसलाई चार दलले सकारात्मक रुपमा ग्रहण गरेको उहाँले स्पष्ट पार्नुभयो ।
साभार ; उज्यालो अनलाईन

Post a Comment

 
Top