काठमाडौं, असार २५– प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षले सहमतिलाई लत्याएर एकलौटी रुपमा नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।
यही असार २३ गते राष्ट्रपति डा. रामवरण यादवले सरकारका तर्फबाट व्यवस्थापिका संसदमा पेश भएको आर्थिक वर्ष २०७२/७३ नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै उहाँले असाधरण अवस्थालाई सरकारले अवमूल्यन गर्दै एकलौटी रुपमा कार्यक्रम ल्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकारले भूकम्पबाट पैदा भएको असाधरण अवस्थाको मूल्यांकन नै गर्न सकेन । कार्यक्रममा देशलाई पुनः निर्माणमा बदल्ने कुनै कार्यक्रम छैन ।’ आम सहमति गरेर नीति तथा कार्यक्रम ल्याउन आफूले कोशिस गरे पनि सत्ता पक्षले बेवास्ता गरेको प्रचण्डको आरोप छ । 
छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘सत्ता पक्षले हतार गरेर नीति तथा कार्यक्रम ल्याए । संविधानमा जस्तै आम सहमति गरेर साझा कार्यक्रम बनाउने प्रयासलाई सफल हुन दिइएन ।’
अहिले तत्काल पेश्की बजेट ल्याएर सबै दलको सहमतिमा पूर्ण बजेट बनाउनु पर्ने विपक्षी दलका नेता प्रचण्डको भनाई छ । भूकम्पले पैदा गरेको असहज अवस्थामा सरकारलाई सहयोग गरे पनि आफूहरुको भूमिकालाई अवमूल्यान गरिएको प्रचण्डको गुनासो छ । ‘असहज अवस्थामा सरकार परिवर्तन गर्न लागेनौं ।
सरकारका कमीकमाजी केलाउन भन्दा पनि बलियो सरकारको पक्षमा लाग्यौ । राष्ट्रिय एकतामा जोड दियौं । तर, सरकारले त्यसैलाई कमजोरीका रुपमा लियो,’ प्रचण्डले संसदमा भन्नुभयो । 
सरकार यस्तै रवैया लिएर अघि बढे नयाँ नेपाल र भूकम्पबाट भएको क्षतिलाई पुनः निर्माणमा बदल्न पास गरिएको २७ बुँद संकल्प प्रस्तावको कार्यान्वायन नहुने दाहालको चेतावनी दिनुभयो ।

Post a Comment

 
Top