कास्की, असार २० – कास्कीको लेखनाथ खुदीमा रहेको पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा अनेरास्ववियू समर्थित विद्यार्थीहरुले लगाएको ताला विश्वविद्यालय प्रशासनले प्रहरीको सहयोगमा फोडेको छ ।

ताला फोडिएपछि, आइतबार बिहानैदेखि विश्वविद्यालयको पठनपाठन सुरु भएको छ । प्रशासनिक कामकाज समेत सञ्चालन भएको विश्वविद्यालयका रजिष्ट्रार डाक्टर दिपक भण्डारीले जानकारी दिनुभयो ।
गल्ती गर्ने विद्यार्थीलाई गरिएको कार्वाही फिर्ता लिँदा यस्ता घटनाले झन प्रश्रय पाउने भन्दै विद्यार्थीहरुका नचाहिँदो माग पूरा गराउन नसकिने भन्दै विश्वविद्यालयको दैनिक काम सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकूलपछि डा. विष्णुराज तिवारीले विद्यार्थीहरुले शैक्षिक विकासको माग लिएर आउनुपर्नेमा नचाहिँदो र राजनीतिक आस्थाका भरमा विश्वविद्यालयलाई नोक्सान गर्ने गतिविधि गर्न नहुने बताउनुभयो ।
प्राध्यापक डा. गोविन्द लामिछानेलाई दुव्र्यवहार गरी शौचालयमा थुन्ने तीनजना विद्यार्थीलाई अनुशासनको कार्वाही गरेपछि, कार्वाही फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर गौतमले भने विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुका जायज माग पूरा गराउनुको सट्टा जबरजस्ती आन्दोलन तुहाउने खेल भएकाले आफुहरु चुप लागेर नबस्ने बताउनुभएको छ । गौतमले आइतबार अनेरास्ववियूको बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको पनि बताउनुभयो ।
पोखरा विश्वविद्यालयमा अनियमित तबरले विद्यार्थी ट्रान्सफर गरेको भन्दै अनेरास्ववियुले गत चैत्र १९ गतेदेखि शुरु गरेको आन्दोलन अन्तर्गत गत सोमबार प्राध्यापक गोविन्द लामिछानेलाई शौचालयमा थुनेका थिए ।
त्यसपछि प्राध्यापक लामिछानेलाई दुव्र्यहार गरेको भन्दै अनेरास्ववियुका जिल्ला कमिटी सदस्य सन्देश दवाडी, इन्जिनियरिङ्ग कलेजका कोषाध्यक्ष सागर पौडेल र हेल्थ साइन्स कलेजका सचिव प्रवेश ढकाललाई १५ दिनका लागि निष्काशन गरिएको थियो ।
यसैको विरोधमा अनरास्ववियुले विश्वविद्यालयमा ताला लगाएको थियो । विवाद समाधानका लागि शनिबार दिनभर मानवअधिकार आयोगको रोहवरमा भएको वार्ता भने  बिना निष्कर्ष टुंगिएको थियो ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top