भदौ ३१ - फोन गर्ने आफनै छोरीको आवाज पनि चिन्नुभएन, खोटाङ दिक्तेलका हैकमसिंह राईले । चिन्नु पनि कसरी । विदेश गएको ६ वर्ष नाघेको थियो अनि बोली सुन्नै नपाएको ५ वर्ष भइसकेको थियो । ‘यतिका वर्ष हराएकी छोरी भेटिएली भन्ने आशा नै थिएन त्यसैले छोरीले फोन गर्ली भन्ने त सोचेकै थिइन अनि कसरी चिन्नु ?’ दुई महिना अघि छोरी हराएकाले खोजी दिन आग्रह गर्दा जति निन्याउरो थियो, अहिले निकै खुशी देखिन्थ्यो हैकमसिंहको अनुहार ।
‘आवाज मात्रै फरक थिएन लवज पनि अर्कै भएको पाएँ ’ हैकमसिंहले छोरीले फोन गर्दाको खुशी साट्नुभयो ‘छोरी हो भनेर विश्वास दिलाउन उनले तीन चार पटक नै म शान्ति नै हो भन्नुपर्यो ।’ गएको साउनमा छोरी विदेशमै बेपत्ता भएकाले खोजीदिन आग्रह गर्दै सुरक्षित आप्रवासन परियोजना सामीको सूचना तथा परामर्श केन्द्र दिक्तेलमा उहाँको पीडा उज्यालो अनलाइनमा प्रकाशित भएको थियो । त्यसपछि नै शान्तिले कुवेतबाट बुवा हैकमसिंहलाइ फोन गरेकी हुन ।
‘त्यतिबेलाको दुःख अहिले खुशी माथिको खुशी भएर आएको छ’ हँसिलो अनुहार लिएर सामीको कार्यलयमा आइपुगेका हुकुमसिंहले सुनाउनुभयो ‘उताबाट गर्दा महङ्गो पर्दो रहेछ त्यसैले म आफैं यतैबाट फोन गर्छु अहिले दिनैपिच्छे भने जस्तो कुरा हुन्छ ।’

फोन नगर्नुको कारण

छोरीले फोन गरेपछि उहाँले ५ वर्षसम्म बेपत्ता हुनुको कारण पनि थाहा पाउनुभयो । छोरीले टेलिफोनमा भनेका कुरा हुकुमसिंहले यसरी सुनाउनुभयो – ‘बाबा सुरुमा म काम गर्न गएको घरका मान्छे खराब परेछन  । अति नै भएपछि घरको मालिकलाई नै हिर्काएर त्यहाँवाट भागें । त्यसपछि लुकेर काम गर्नु पर्यो । भागेर काम गरेका मोवाइल किन्न पाइन  । फेरि फोन गर्दा पनि कतै मेरो मोवाईल नै ट्रयाकिङ गरेर समस्यामा त पार्ने होईन भनेर मैले सम्पर्क गर्न सकिन । त्यसैले फोन गर्न पाइन । त्योसँगै २०÷२५ जना सँगै बस्थ्यौं  । कोठा भाडा र खानामा मात्र ठिक्क हुन्थ्यो आफनो कमाई । अहिले चाहिँ काम पनि अलिक राम्रो छ, अनि कमाई पनि त्यसैले फोन गरें  ।
दुई महिनाअघि छोरी भेट्टाए हुन्थ्यो मात्रै भनिरहने हुकुमसिंहसँग अहिले सुनाउने कुराकोे चाङ ठूलै छ । ‘छोरीले फागुनभित्र जसरी पनि आउँछु मेरो चिन्ता नगर्नु भनेर भनेकी छिन’ खुसी हुँदै उहाँले भन्नुभयो ‘घर आउनलाई सामान पनि प्याक भइसकेको छ रे ।’ विदेश जाँदाका सुरुका दिनमा खान बस्न ठिक्क मात्रै हुने शान्तिको अहिलेको कमाइ राम्रै छ । त्यसैले उहाँले घर पठाउनलाई पनि पैसा ठिक्क पारेर राख्नुभएको छ अनि घर आउँदा ल्याउने सामान पनि । ‘पैसा केही दिनमा पठाईदिन्छि रे अनि सामान चाहिँ आफैं लिएर आउँछिन रे’ हौसिएको आवाजमा हुकुमसिंह भन्नुहुन्छ ‘तर मैले त पैसा र  सामान चाहिँदैन तिमी आए पुग्छ भनेको छु ।’  

Post a Comment

 
Top