बाँके, भदौ १८ – बाँकेको नेपालगन्जमा गोली लागेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान गएपछि उहाँको परिवार शोकमा डुबेको छ । शुक्रबार बिहान एक्कासी श्रीमानको ज्यान गएको खबर सुन्नासाथ उहाँकी श्रीमती पार्वती बेहोस हुनुभएको छ । अचेत भएपनि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।
श्रीमानको ज्यान गएको खबर पत्याउननै नसक्नु भएकी उहाँ घरी घरी होसमा आउने र बर्बराउने गरेको नातेदार ठाकुर पाण्डेले बताउनुभयो । पार्वतीसँगै १२ वर्षका छोरा सुगम र ६ वर्षका सुमन पनि अस्पताल नै छन् । सानै उमेरमा बुबा गुमाएका दुवै बालकको आँखाबाट आँसु रोकिएको छैन ।
शान्ति विद्या निकेतनमा सुगम कक्षा ६ र सुमन युकेजीमा अध्ययनरत छन् ।  ईलाका प्रहरी कार्यालय  मैनापोखर बर्दियामा कार्यरत प्यूठान धर्मावती–४ का प्रहरी हवल्दार पाण्डेको परिवार नेपालगञ्ज–१ धम्बोझीमा बस्दै आएको  छ । पाण्डे १८ वर्षअघि नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । 
घटनाबारे जानकारी पाएपछि पाण्डेको परिवार, आफन्त र स्थानीय बासिन्दा नेपालगन्ज शिक्षण अस्पतालमा जम्मा भएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशवप्रसाद अधिकारीले शुक्रबार बिहान बर्दियाको मैनापोखरमा प्रहरी र प्रदर्शनकारीबीच झड्प भएको र त्यस क्रममा नजिकै रहेको मकैबारीबाट प्रहरीमाथि गोली प्रहार भएको बताउनुभयो ।
काठमाडौंबाट गुलरियाका लागि छुटेका दुई वटा रात्रीबसलाई बन्दकर्ताले आगजनी र तोडफोड गर्न खोजेपछि सदरमुकाम गुलरियाबाट थप बल  ल्याएर शुक्रबार बिहान सवारी साधन सकुशल गन्तव्यमा पु¥याइएको र सदरमुकामको टोली फिर्ता भएपछि प्रहरीमाथि नजिकै रहेको मकैबारीबाट गोली हानिएको उहाँले बताउनुभयो । 
यसबारेमा थप अनुसन्धानका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी हवल्दार पाण्डेको  दायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ ।  गोली लागी घाइते पाण्डेको उपचारकाक्रममा शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो ।

Post a Comment

 
Top