काठमाडौं, असार २० – नेपाली काँग्रेसका उपसभासद्पति रामचन्द्र पौडेलले संविधानसभामा के कुरा पारित गरियो भन्ने कुरा थाहा नपाउने सभासद्हरु देखेर दिक्क लागेको बताएका छन् । संविधानको मस्यौदामा बहुलवाद शब्द नपरेको र धर्म निरपेक्षता भन्ने शब्द राखिएको विरोधमा उत्रेका आफ्नै पार्टीका सभासद्लाई लक्षित गर्दै उनले त्यस्ता आफैले पारित गरेको कुरा थाहा नहुने सभासद् देखेर दिक्क लागेको बताए । ‘आफूले संविधानसभामा गरेको काम के गरेँ, कस्तो गरेँ, थाहा नपाउने सभासद् देखेर दिक्क लागेको छ ।’ बलबहादुर राई पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कायक्रममा उनले भने, ‘त्यो कुरा आफैले पहिला पारित गरेको कुरा हो ।’ आफू लोकतन्त्रमा विस्वास गर्ने भएकोले शब्दमा कुनै भ्रम पर्न गएमा त्यो मिलाउन सकिने भन्दै उनले धर्मका अनुयाईहरुलाई बढी जिद्धी नगर्न पनि आग्रह गरे । हिन्दुधर्म सबै धर्मले सबै धर्मलाई मिलाएर लैजान सक्ने उदार र लचिलो धर्म भएकोले धर्म निरपेक्षता शब्द उल्लेख हुँदैमा जिद्धी नगर्न आग्रह गरे । उनले काँग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रकै पक्षमा रहेकोले यस विषयमा पनि भ्रममा नपर्न आफ्ना सभासद्हरुलाई आग्रह गरे । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रकै संविधान जारी गर्दैछौँ, यस विषयमा कसैलाई भ्रम नपरोस्’ उनले भने– ‘बहुजातिय, बहुधार्मिक र बहुसाँस्कृतिक प्रदेश बन्छन्, आजै घोषणा गर्ने भएपनि गरौँ ।’ पौडेलले आफूले एक्लै राज्य पूर्नसंरचनाको कुरा दुईदिनमा टुंग्याइदिने बताए । आफू यस विषयमा विज्ञ नभएपनि पूरै नेपाल पढेको भन्दै उनले दुई दिनमा आफू एक्लैले संविधानको मस्यौदा बनाइदिने दाबी गरे । ‘देशलाई निकाश, जनतालाई विकास, हाम्रो यही नारा हो,’ उनले भने– ‘एमाओवादी र मधेशवादीलाई पनि सहमतिमा ल्याउन सक्ने हामीले सर्बसम्मतिको संविधान पनि जारी गर्न सक्छाँै ।’
साभार : रातो पाटी 

Post a Comment

 
Top