11748721_10206108006973415_1265672406_nकाठमाण्डु, ३० असार– नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णलाई गएको आइतबार पुरानोवानेश्वरस्थित पुरानो मेलम्चीको कार्यालयको आसपासमा विहान ११ बजे कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिन विद्यार्थीहरु योजना बनाएर बसेका थिए ।
त्यो सूचना सिमित पत्रकारहरुलाई पनि थाह थियो । तर त्यो दिन कर्णलाई नभेटेपछि विद्यार्थीहरु ‘थाह पाएछ क्यारे’ भन्दै फर्केका थिए । कालोमोसो भेट्न गाह्रो भएपछि जुत्तामा लगाउँने कालो ‘चेरी’ पालिस लिएर उनीहरु दल्न तम्तयार थिए । त्यो दिनको योजना सफल नभएपछि मौका पर्खिरहेका उनीहरुले मंगलबार कर्णकै हाँडीगाउँस्थित निवासमा ज्ञापन पत्र बुझाउने निहूँ बनाएर पुगे । घरको गेट मै ज्ञापन पत्र बुझाउन गएका करिब २० जना विद्यार्थीले कर्णलाई चेरी पालिस दलिदिए । घरमै कर्णको पत्नी, छोरी र कर्णकै जुत्ताचप्पल जोडेर माला लगाइदिए ।
त्यो प्रतिवाद गर्ने क्रममा कर्ण कम्पाउण्ड बाहिर निस्के । अनि सडकमा निस्कँदा त्यही बेलो फोटो खिचियो । उनलाई सडकमै कालोमोसो दलेजस्तो देखिएको छ । वास्तवमा उनलार्ई उनकै घरको गेटमै कालोमोसो दलिएको थियो ।
कर्णलाई कालोमोसो दल्न गगन थापा, कुन्दनराज काफ्ले, कृष्ण सिटौला लगायतले निर्देशन दिएको विषय बाहिर आएको छ । कालोमोसो दल्ने मुख्य योजनाकार विद्यार्थी नेताका अनुसार निर्देशन कसैल दिएको हैन । तर कार्यक्रम यस्तो हुँदैछ भन्ने धेरैलाई थाह थियो । कांग्रेस नेता कृष्ण सिटौलाले दले फरक पर्दैन पनि भनेका थिए । यी मुख्य योजनाकारले आफ्नो नाम कर्णले दिएको किटानी जाहेरीमा नरहेकोले नाम उल्लेख नगरिदिन काठमाण्डु टुडेसँग आग्रह गरे । उनी कालोमोसो दल्ने कार्यक्रम केही दूरीमा बसेर नियालिरहेका थिए । दल्ने विद्यार्थीहरु चाहिँ नेपाल इञ्जििनियरिङ कलेजका थिए ।
माथिल्लो तहका नेताको आड बिना आफ्नै संगठनका अध्यक्षलाई कालोमोसो दल्न त्यति सजिलो थिएन । यो प्रकरणका केही राजनीतिक विषय र केही कर्णको शैली जिम्मेवार भएको दल्नेहरु बताउँछन् । छ महिनाका लागि अध्यक्षमा टिका थापेका कर्ण चारवर्षदेखि पदमा छन् । सभासद् भएपछि पनि उनले पद छाडेनन् । सभापतिकालागि नेविसंघमा आधा दर्जन महाधिवेसन ताकेर बसेका छन् । उनीहरु सबै कर्णसँग असन्तुष्ट छन् । असन्तुष्टहरुले दबाब दिँदा पार्टी पंक्ति पनि कालोमोसो नदल भन्ने अवस्थामा छैन ।
नेपाल इञ्जिनियरिङ कलेजमा निर्वाचित अध्यक्ष खगेन्दं कार्की हुँदा हुँदै कर्णले पत्र पठाएर विद्यार्थी भर्ना, कोटामा चलखेल गरेको आरोप सो कलेजका विद्यार्थीहरुको गुनासो छ । कर्णसँगै सोझै असन्तुष्टि राख्दा ‘तिमीहरुको सभापित म हुँ, सभासद् पनि हुँ, जे पनि गर्न सक्छु’ भन्ने जवाफ दिने गरेको विद्यार्थीहरुले बताए । नेविसंघ पोखरा विश्वविद्यालयका अध्यक्ष नवराज त्रिपाठी भन्छन्,‘यो विरोध जनाउँने सामान्य शैली मात्रै हो ।  यसलाई अतिरञ्जित बनाउन आवश्यक छैन । पर्यो भने यो भन्दा सशक्त कार्यक्रम पनि आउन सक्छ ।’
कालोमोसो र जुत्ताको माला लगाएर दूव्र्यवहार भइसकेपछि कर्णले प्रहरीमा उजुरी दिएका छन् । कांग्रेस महामन्त्री प्रकाशमानसिंहले कालोमोसो दल्नेहरुलाई तुरुन्तै पक्राउ गर्नु पर्ने बताउँदै आएका छन् । त्यसका लागि उनी प्रयासरत पनि छन् । तर अर्का महामन्त्री कृष्ण सिटौला भने राजनीतिक विषय हो पुलिस लगाउन हुँदैन भनेर मोसो दल्नेहरुको पक्षमा छन् । कर्णले देशभरका विद्यार्थीहरुलाई जुधाएर संगठन ध्वस्त पारेको आरोप विपक्षी विद्यार्थीहरुको भनाइ छ । कर्ण, प्रकाशमान र सिटौला तीनै जना कोइराला क्याम्पकै हुन् । तर पनि विद्यार्थीको विवादले नेताहरुबीच अहिले खटपट सुरु भएको बुझिएको छ ।

Post a Comment

 
Top