काठमाडौं, साउन ३ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा आयरल्याण्ड विजयी भएको छ । आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्डले जर्सीलाई ७ विकेटले हराएको हो ।
जर्सीले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य आयरल्याण्डले १६ दशमलव ४ ओभरमा तीन  विकेट गुमाएर भेट्टायो । आयरल्याण्डका पल स्टिर्लिङले ५५, एनडी बालविर्नीले नटआउट ३२ तथा विलियम पोटरफिल्डले १७ रन बनाए । जर्सीका बेन स्टीभनसले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जर्सीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनायो । जर्सीका लागि पिटर गफले ४२, जोन्टी जेनरले २६ तथा इडवार्ड फार्लेले २१ रनको योगदान दिएपनि हार टार्न भने सकेन ।
आयरल्याण्डका पल स्टिर्लिङ, जोन मुनी र एलेक्स क्युज्याले समान तीन तीन विकेट लिए । जितपछि आयरल्याण्डको ६ खेलबाट ८ अंक भएको छ भने जर्सीको ४ अंक छ । जर्सीको विश्वकप छनौटका लागि प्लेअफ खेल्न पाउने संभावना सकिएको छ । यो समूहमा रहेको नेपालको संभावना यसअघि नै सकिएको थियो ।

Post a Comment

 
Top