असार, पर्वत । सुन्दा पनि पत्यार नलाग्न सक्छ स्कूले विद्यार्थी रक्सीका खाली बोतल बोकेर विद्यालय जान्छन भनेर । तर पर्वतको चित्रे गाविस–१ आडारेस्थित पञ्चकोसी प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी दिनहुँ खाली रक्सीका बोतल बोकेर विद्यालय पुग्ने गर्छन् त्यो पनि कम गुणस्तरको । विद्यालयमा विद्यार्थीले नियमित रुपमा रक्सीका खाली बोतलसहित विद्यालय जानुपर्ने कारण भने अर्कै छ । गाउँमा कम गुणस्तरको रक्सी सेवन गर्ने पुरुषको सङ्ख्या बढ्न थालेपछि नियन्त्रणका लागि स्कूले विद्यार्थीले सक्रियता देखाएका हुन् । कम गुणस्तरका सोफी, बटारे, खोइला बिक्र्रेजस्ता रक्सी सेवन गर्दा स्वास्थ्यसमेत बिग्रन थालेपछि यस्तो अभियान थालिएको विद्यालयका शिक्षक मधुसोदन अधिकारीले बताए । “अभिभावकले कम गुणस्तरका रक्सी सेवन गर्दा स्वास्थ्यसमेत बिग्रने र आर्थिक नोक्सानी हुन थालेपछि नियन्त्रणका लागि विद्यार्थी परिचालन गरिएको हो”, उनले भने, “अभियानपछि गाउँमा रक्सी सेवन गर्ने पुरुषको सङ्ख्यामा कमी आउने विश्वास लिएका छौँ ।” विद्यालयले यो शैक्षिकसत्रको शुरुवातदेखि यस्तो अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा एउटा बिद्यार्थीले महिना दिनमा ५६ वटासम्म सोफी ब्रान्डको रक्सीका खाली बोतल विद्यालयमा बुझाएका छन् । सबैभन्दा बढी रक्सीका बोतल बोकेर विद्यालय आउने विद्यार्थीलाई विद्यालयले सजाय होइन उल्टै पुरस्कृतसमेत गर्दै आएको छ । पुरस्कार पनि गाउँमा सबैभन्दा बढी रक्सी सेवन गर्ने पुरुषबाट वितरण गराउने योजना विद्यालयको छ । अहिलेसम्म अभियानका बारेमा अभिभावकलाई भने पत्तो छैन । “सबैभन्दा बढी रक्सी सेवन गर्ने अभिभावकलाई विद्यालयमा बोलाएर पुरस्कार वितरण गराउने योजनामा छौँ”, विद्यालयकी प्रधानाध्यापक सुशिलादेबी गुरुङले भने । यसबाट अभिभावकमा हीनताबोध भएर रक्सीको कुलत छाड्ने वातावरण बनाउने अभियानलाई गाविस र स्रोतकेन्द्रभर पुर्याउने योजना रहेको प्रअ गुरुङले बताए ।गाउँमा घरेलु रक्सीका बोतल ठूला हुने र घरमै बनाइएको घरेलु रक्सी ल्याउन कठिन भएकाले बजारबाट आउने कम गुणस्तरका रक्सीका बोतल सङ्कलन गरेर अभियान थालिएको शिक्षक अधिकारीको भनाइ छ । यो अभियानको निरन्तरताका क्रममा घरेलु तथा अन्य ब्रान्डका रक्सीका बोतल पनि नियन्त्रण गर्ने अभियान पनि थालिने उनको भनाइ छ । “अहिले सुरुवात मात्रै हो”, उहाँले भन्नुभयो, “समाजलाई सभ्य बनाउनका लागि यसलाई थप प्रभावकारी बनाउने योजनामा छौँ ।” रासस

Post a Comment

 
Top