२१ असार, बुटवल । मनसुन सक्रिय बनेपछि
रुपन्देहीका किसानहरुको ब्यस्तता बढेको छ । पर्याप्त पानीको अभावले गर्दा
रोपाई गर्न नसकेका किसानहरु शनिबारदेखि पानी पर्न थालेपछि रोपाईंमा ब्यस्त
भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले
आईतबारसम्म जिल्लामा २० प्रतिशत रोपाईं भएको बताएको छ । अब ६० प्रतिशत
खेतमा धान रोप्न बाँकी छ ।
कृषि कार्यालय रुपन्देहीका अनुसार कुल
खेतीयोग्य जमिनको ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
जसमध्ये सिन्चित एरिया ५० हजार ६ सय १७ हेक्टर रहेको छ । मनसुन छिटो बेलैमा
सक्रिय भएकाले यो वर्ष धानको उत्पादन बढ्न सक्ने कृषि विज्ञहरुले बताएका
छन् ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका
प्रमुख कृष्णभद्र अधिकारीले शनिबारदेखि पानी पर्न थालेपछि अधिकांश ठाउँमा
रोपाईं शुरु भएको बताए । उनले आकाशे पानीको भर परेका क्षेत्रमा पनि रोपाईं
शुरु भएको बताए ।
जिल्लाको उत्तरी क्षेत्रमा लगभग रोपाईं
सकिएको छ । देवदह, फर्साटिकर, शंकरनगर, मणिग्राम, मानपकडी, सालझन्डी,
सैनामैनामा धमाधम रोपाईं चलिरहेको छ । बोगडी, लुम्बिनी आदर्श, मधुवनी,
साडी, करौता, सुर्यपूरा, गुठी प्रसौनी, आमालगायतका गाबिसहरुमा पनि आंशिक
मात्रामा रोपाईं शुरु भएको छ ।
यहाँ उन्नत र हाइब्रिड जातका धान रोपिएको छ
। कृषि कार्यालयका अनुसार उन्नत धानतर्फ सुख्खा ३, सावा मन्सुली,
सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, कालानमक जस्ता प्रजातीका धान रोपिएको
छ । यस्तै हाईब्रेड जातमा गोरखनाथ ५०९, लोकनाथ ५०५, एराइज ६४६४, पृथ्वी,
सुरज, चाँदनी, भर्ती लगायतका धानको बिउ किसानले रोपेका छन् ।
परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनामा कृषि कार्यालयले
सिफारिस गरेको नयाँ र उन्नत जातका धानहरु यसबर्ष बढि मात्रामा रोपिएकोले
उत्पादन रामै्र हुने अनुमान कार्यालयको छ । जिल्लाको हावापानी तथा माटो
सुहाउंदो हाईब्रेड जातका धानको पनि दक्षिणी भेगमा उत्पादन गरिएपछि
रुपन्देहीको उत्पादन बढ्दै गएको छ ।साभार : अनलाईन खबर
Post a Comment