काठमाडौं, असार २१ राप्रपा नेपालले काठमाडौंमा हिन्दु सनातन धर्मसभा आयोजना गर्ने भएको छ । पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा उक्त पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताको खारेजी तथा पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको सनातन हिन्दुराष्ट्र स्थापनका लागि यस्तो सभा आयोजना गर्न लागिएको जानकारी दिए। उनले सभामा भारत, बेलायत, इन्डोनिसियासहितका देशबाट पनि सहभागिता हुने बताए।संविधानसभालाई ठूला राजनीतिक दलका केही नेताको रबर स्ट्याम्प बनाएको, संविधानसभामा पर्याप्त छलफल गर्न नदिएको, नियमावली निलम्बन गर्ने, संविधान मिच्ने काम गरेको भन्दै त्यसविरुद्ध राप्रपाले संघर्ष गर्ने जनाएको छ। बहुमतका आधारमा भइरहेको स्वेच्छाचारिताको विरोध गर्न, सनातन हिन्दु राष्ट्र पुनस्र्थापना गर्न, धर्मनिरपेक्षता खारेज गर्न, धर्म परिवर्तनलाई मौलिक हकमा राख्न नदिन तथा जनमतसंग्रहको माग पूरा गराउन संघर्ष घोषणा गरिएको जानकारी थापाले दिए। असार २२ मा सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन तथा सभा गर्ने राप्रपाको कार्यक्रम छ। सोही दिन काठमाडौंमा भने अलग्गै प्रदर्शन गने निर्णय उक्त पार्टीले गरेको छ । त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरबाट बबरमहलमा भेला भई संविधानसभा भवनअगाडि राप्रपाले धर्ना दिने भएको छ। त्यसैगरी माग पूरा गराउन साउन पहिलो सातादेखि राजधानी केन्द्रित संघर्ष गर्ने चेतावनी पनि उक्त पार्टीले दिएको छ।
साभार : अन्‍नपूर्ण

Post a Comment

 
Top