काठमाडौं, असार २९ सडक नपुगेको ठाउँमा सडक पुग्दा स्थानीयबासिन्दाले गाडी चालकलाई फूको माला मात्र होइन पैसाका माला नै लगाइदिन्छन र गाडीलाई भगवान जस्तै पूजा गर्छन । त्यसैगरि धुलाम्य र हिलैैहिलो भएको बाटो पक्की हुँदा पनि स्थानीयबासिन्दाको अनुहारमा खुसीका लहर देखिन्छ ।
नेपालका विकट गाउँका बासिन्दा सडक पुग्दा जति खुसी देखिन्थे त्यस्तै खुसी अहिले राजधानी काठमाडौंको पुरानो बानेश्वरकाबासिन्दामा देखिएको छ । कारण हो भत्काएको ३ बर्षपछि मात्र पुरानो बानेश्वरको  सडक कालोपत्रे हुन थालेको छ ।
अहिले बाटोमा धमाधम गिट्टी विछ्याउने र सडक सम्याउने काम भैरहेको छ । ठुला ठुला मेसिन चलिरहेका छन् । केही कामदार ढलको काम गर्दैछन भने केहीले विजुली र टेलिफोनका तार हटाइरहेका छन् । निकै दु्रत गतिमा काम भइरहेको छ । यहि गतिमा काम भए अबको १५ दिनमा सडक कालोपत्रे भएर चिल्लो हुने संकेत देखिन्छ । यो काम यति सजिलै सुरु भएको भने होइन । भत्काएको ३ बर्ष वित्दा पनि सडक नबनेपछि पुरानोे बानेश्वरकाबासिन्दाले चक्काजाम र नाराबाजी मात्र होइन सडकमा रोपाईं नै गरेर दबाब दिनुपर्‍यो । तब मात्र सडकको काम सुरु भएको छ ।
‘हामी पटक पटक सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र प्रधानमन्त्री कार्यलयमा पुग्यौं छिट्टै सडक निमार्णको काम पुरा हुने आश्वासन पाइयो तर कहिल्यै  काम सुरु भएन’ पुरानो बानेश्वरका पसले अख्तर अलिले भन्नुभयो, ‘यो देशमा जबसम्म आन्दोलन, नाराजुलुुस, ईंट्टा हानाहान  र टायर बाल्ने काम हुँदैन तबसम्म कुनै पनि काम तोकिएको समयमा काम हुँदैन ।’
सडक बनाउन थालेको २ बर्षमा पनि काम नसकिएकोले सडकका खाल्डोमा धेरै गाडी पल्टिए, धेरै पैदल यात्री लडे, घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य भयो सडक । निकै राम्रो व्यापार हुने थलोबाट धेरैले ब्यापार नै छोडेर हिड्नुपर्‍यो । आज होला कि भोली होला कि भन्दै सरकारको बाटो हेर्दा हेर्दा थाकेका स्थानियबासिन्दाले २ बर्ष बितिसक्दा पनि समस्या समाधान हुने छाँट नदेखेपछि  गत शुक्रबार चक्का जाम गरे, पुलिससँग झडप पनि भयो ।  
विकास माग्दै सडकमा उत्रेका स्थानीयबासिन्दालाई दमन गरेमा आन्दोलन अन्यत्र सल्कन सक्ने डरले तत्कालै सबै पक्षका मान्छे जम्मा पारेर निर्णय भयो ‘मौसमले साथ दिए १५ दिनभित्र बाटो कालोपत्रे गरिनेछ ।’
मैतिदेवी पुरानो बानेश्वरको सडक निमार्णको जिम्मा पाएको कम्पनी लामा विल्डर्स/बिरुवा/च्याङमिला जेभीका  आनन्द कुमार कर्ण, काठमाडौंं उपत्यका सडक विकास आयोजनाका प्रभातकुमार झा र जिल्ला प्रशासन कार्यलयका प्रतिनीधिलाई जुटाउने काम गर्नुभयो महानगरीय प्रहरी प्रभाव गौशालाका प्रहरी नायव उपरीक्षक राकेश सिंहले । मैतिदेवीदेखि पुरानो बानेश्वरसम्मको २ किलोमिटर सडक ३ बर्षमा पनि पुरा नभएको र स्थानीयबासिन्दाको चर्को आक्रोस मत्थर पार्न पनि काम तत्कालै गर्नुपर्ने निष्कर्ष निकालियो ।
‘त्यहाँका नागरिकका सबै माग जायज थिए, तत्कालै समस्या समाधान गरिएन भने समस्या झन बल्झिने खतरा देखेपछि सम्बन्धित सबै पक्षका अधिकारीलाई जुटाएर समन्वय गर्ने काम गर्‍यौं’ महानगरीय प्रहरी प्रभाग गौशलाका प्रहरी नायब उपरिक्षक राकेश सिंहले भन्नुभयो, ‘सामान्यतया विकास निमार्णका काममा प्रहरीले कमै मात्र हात हाल्छन तर हामीले चाहिँ सबैपक्षसँग समन्वय गरेर एक्सन लियौं ।’
देशको राजधानीभित्रकै यो सडक पटकपटक कालोपत्रे गर्न ठिक्क पारियो  । तर कहिले ढल विछ्याउने त कहिले टेलिफोनका पोल गाड्न भत्काइयो । सरकारलाई दवाव दिन कहिले सडकमै धान रोप्ने त कहिले बिच बाटोमा बोका काट्नेसम्मका काम गरे तर सरकारले नसुनेपछि  बालबच्चा बुढाबुढी पनि सडकमा ओर्लिए ।  र यसको परिणाम पनि राम्रै भयो । काम सुरु भएको ४ दिनमा सडकमा ग्राभेलको काम सकिन थालेको छ ।
पानी नपरेमा १० दिन भित्रमा सडक कालोपत्रे गरिनेछ । कालोपत्रेपछि स्थानीयबासिन्दाले घाम लाग्दा धुलाम्य र  पानी पर्दा घुँडा घुँडासम्मको हिलोबाट वाक्क भएका पुरानो बानेश्वरकाबासिन्दा र पैदलयात्रीले यस्तो समस्या भोग्नुपर्ने छैन । विकास निर्माणका धेरै काममा सरकारी तौरतरिका नागरिकको आवश्यकता पुरा गर्ने भन्दा पनि बजेट सक्ने भन्ने ध्याउन्नमा बढ्ता केन्द्रित देखिन्छ । पुरानो बानेश्वरका नागरिकले विकास निर्माणमा भइरहेको सरकारी हेलचेक्रयाइ विरुद्ध नागरिकले आवाज उठाउनुपर्छ भन्ने सन्देश दिएका छन् ।

Post a Comment

 
Top