खोटाङ, असार ३० – राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला कारागार खोटाङको भवनको गुणस्तर अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ ।
आयोगले हालै गरेको अनुगमनमा नवनिर्मित कारागारको भौतिक अवस्था नाजुक रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्र पठाई सुझाव दिएको हो । कारागार निर्माण गर्दा ढलको उचित व्यवस्थापन नगरेको पाइएकाले उचित व्यवस्थापन र सुधार गर्न तथा कारागारको वातावरण सुधार गर्न आयोगले सुझाव दिएको हो ।
कारागारका कोठा चिरा परेको, आँगन भासिएको, पर्खाल चीरा परेको पाईएको र तत्काल भौतिक अवस्था सुधार गर्न आवश्यक रहेको आयोगले जनाएको छ । यस्तै कारागारको बजेट आवश्यकता अनुसार बृद्धिगरी बजेट अभावमा देखिएका समस्या समाधान गर्नुपर्ने र विभिन्न समयमा सम्बद्ध निकायबाट भएको निरीक्षणका क्रममा दिएका निर्देशन पुर्ण कार्यन्वयन गर्नपनि आयोगले ध्यानाकर्षण गराएको छ ।
कैदिबन्दीलाई रोजगारमुलक तथा सीप विकास तालिमको व्यवस्था गरिनु पर्ने, स्वस्थकर खाना, स्वास्थ्य सरसफाई सम्बन्धी चेतना प्रदान गर्नुपर्ने, बजारभाउ अनुसार सीदा तथा दैनिक खर्च र चाडपर्व खर्च बृद्धि गर्नु पर्ने, खेलकुद तथा शैक्षिक सामाग्रीको व्यवस्था हुनुपर्ने, न्यायमा सहज पहुँचका लागि पहल गर्नुपर्ने र देवानी र फौजदारी मुद्धाका कसुरदारलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ ।

Post a Comment

 
Top