काठमाडौं, असार ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट पूर्वाग्रही र एकपक्षीय भएको बताउनुभएको छ ।
संविधानसभा भवन नयाँ वानेश्वरमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको नेपाली कांग्रेसले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभएको एमालेका सभासद् भानुभक्त ढकालले जानकारी दिनुभयो ।
आफ्ना सांसदहरुलाई संसद्को बैठकमा सोही रुपमा प्रस्तुत हुन निर्देशित गर्दै अध्यक्ष ओलीले भन्नुभयो 'बजेटलाई हेर्दा यो मुलुक कांग्रेस एक्लैले चलाएको जस्तो भान भयो, यो हुनु दुःखद् हो । यसको हामी प्रतिवाद गरेर अघि बढ्छौं ।'
बैठकमा बजेटका राम्रा नराम्रा र कमजोरीका पक्षबारे छलफल भएको थियो । यस बारे राष्ट्रिय योजना आयोगमा पार्टीका तर्फबाट पठाइएका सदस्य प्रेम दङ्गाल लगायतले ब्रिफिङ गर्नुभएको थियो ।
नेता माधवकुमार नेपालले सञ्चारकर्मीसँग भन्नुभयो 'बजेटमा राजनीतिक गन्ध देखियो । सत्ता साझेदार दलसँग पनि खुल्ला छलफल नगरी ल्याइयो । यसबाट एमालेको चित्त दुखेको छ ।' नेता नेपालले आग्रह र पूर्वाग्रहका साथ बजेट ल्याइएको, राष्ट्रिय गौरवका आयोजनालाई महत्व नदिइएको, पुष्पलाल, मदन भण्डारीजस्ता नेताका नामका कार्यक्रम र त्यससम्बन्धी प्रस्तुतिमा सम्मानजनक स्थान नदिएको टिप्पणी गर्नुभयो ।
बैठकमा नेता नेपाल, उपाध्यक्ष विद्या भण्डारी, नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्निप्रसाद खरेललगायतले बोल्नुभएको थियो ।

Post a Comment

 
Top