काठमाडौं, असार ३१  नेकपा एमाले को स्थायी कमिटीको आजको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ । 

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतलाई बजेट तर्जुमा हुनुपूर्व दिइएका सुझाव समावेश नभएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
यस विषयमा प्रधानन्त्री कोइराला र अर्थमन्त्री महतसँग आजै वार्ता गर्न सत्ता साझेदार एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्निप्रसाद खरेल रहेको टोलीलाई जिम्मा दिएको छ । 
बैठकपछि एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको सुझाव अर्थमन्त्री महतले संसद्मा दिने जवाफमा समावेश गर्न तयार नभए तत्काल पार्टीको संसदीय दलको बैठक गरी आवश्यक निर्णय लिने बताउनुभयो । के एमालेले बजेटको विपक्षमा मतदान गर्छ भन्ने पत्रकारको प्रश्नमा सचिव भट्टराईले भन्नुभयो – “एमाले सहमत नभएको बजेट पारित हुँदैन ।” 
उहाँले विगतमा एमाले सहभागी सरकारले ल्याएका कतिपय राम्रा कार्यक्रम हटाइएको र पार्टीका शीर्ष नेताका कार्यक्रम समावेशका क्रममा पूर्वाग्रह राखिएको बताउनुभयो । 
यसैगरी, बैठकले संविधान जारीका विषयमा चार दलबीच भएको १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलका कतिपय नेताले सहमतिको प्रतिकूल हुने अभिव्यक्ति दिन नहुने र त्यसो भएमा संविधान जारी गर्ने काममा अवरोध हुने ठहर गरेको छ ।
सचिव भट्टराईले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनसहित संविधान जारी गर्ने भएमा चार दलकै बीचमा सहमति हुनुपर्ने भन्दै त्यसका नाममा बाहिर किचलो नगर्न आग्रह गर्नुभयो । रासस

Post a Comment

 
Top