असार २४ – माइक्रोसफ्टले नोकिया मोबाइल फोन युनिटका कर्मचारी कटौती गर्ने भएको छ । माइक्रोसफ्टले नोकिया मोबाइल फोन युनिटका ७ हजार ८ सय कर्मचारी कटौती गर्ने जनाएको छ ।
माइक्रोसफ्टले गएको वर्षको अप्रिलमा ७ दशमलव ५ बिलियन अमेरिकी डलरमा नोकियाको मोबाइल कम्पनी किनेपछि कर्मचारी कटौती गर्दै आएको छ । माइक्रोसफ्टले गएको वर्षको जुलाइमा नोकिया फोन युटिनबाट १८ हजार कर्मचारी कटौती गरेको थियो । जुन कम्पनीको इतिहासमा नै सबैभन्दा धेरै कर्मचारीको कटौती हो । 
विश्वभर अहिले माइक्रोसफ्टमा एकलाख १८ हजार कर्मचारी कार्यरत छन् । नोकिया फोनको कम्पनी रहेको फिनल्याण्डमा मात्रै दुई हजार तीन सय जनाको जागिर जाने भएको छ । फिनल्याण्ड सरकारले विज्ञप्ती निकालेर माइक्रोसफ्टको नोकियाका कर्मचारी कटौती गर्ने निर्णयले आफूलाई निराश बनाएको उल्लेख गरेको छ ।
माइक्रोसफ्टले भने फोनको हाडवेयरमा पुनर्संरचना गर्नका लागि कर्मचारी कटौती गरिएको र अब नयाँ तरिकाबाट काम सुरु गरिने जनाएको छ । माइक्रोसफ्टले एप्पल र सामसुङ जस्ता स्मार्टफोन निर्माता कम्पनीसँग प्रतिस्पर्धा गर्न 
फोन युनिटमा पुनर्संरचना गर्ने आवश्यक रहेको जनाएको छ । स्मार्टफोनको विश्वबजारमा यो वर्ष माइक्रोसफ्टको विन्डोज फोनले मात्रै ३ दशमलव २ प्रतिशत बजार ओगटेको एक अध्ययनले देखाएको छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top