काठमाडौं, साउन ४ – काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा बिहानैदेखि सुझाव संकलनको चहलपहल सुरु भएको छ ।  काठमाडौंको निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रङ्गशाला, विजयस्मारक स्कुल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कुलमा व्यवस्था गरिएको छ ।
क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट उमावि पुरानो बानेश्वरमा तय गरिएको छ । क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कुल नयाँबस्ती बौद्धमा पुगेर नागरिकले आफ्ना सुझाव दिन सक्नेछन् ।
क्षेत्र नं ४ का बासिन्दाले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन सक्नेछन् । क्षेत्र नं ५ मा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेसका लागि स्थान तय गरिएको छ ।
क्षेत्र नं ६ मा मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल, क्षेत्र नं ७ मा बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रूपमा तय गरिएको छ ।
त्यसैगरी क्षेत्र नै १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आर्दश विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिकामा सुझाव दिने स्थानको रूपमा छनौट गरिएको छ । 
ललितपुरको निर्वाचन क्षेत्र नम्वर १ को लागि गोदावरीको किट्नी विद्यालय र चापागाँउको फूलबारी रिर्सोट तोकिएको छ । त्यस्तै क्षेत्र नम्वर २ को सुझाव संकलन बालकुमारी नजिक भोलढोकामा रहेको ज्यापू भवनमा हुनेछ । त्यस्तै क्षेत्र नम्वर ३ को लागि खुमलटारको नास्ट परिसर तोकिएको छ । 
भक्तपुरमा कमलविनायक र ठिमीमा सुझाव संकलनको काम हुने भएको छ । क्षेत्र नम्बर १ को लागि कमल बिनायकको स्टार बैंकटमा कार्यक्रम हुनेछ । यस्तै क्षेत्र नम्बर २ को लागि भोलि ठिमीको यचु पार्टी प्यालेसमा सुझाव संकलनको कार्यक्रम तय गरिएको छ ।

Post a Comment

 
Top