भक्तपुर, साउन  ४ - साउन ४ गते सार्वजनिक विदा, त्यसमाथि पनि संविधान निर्माणका लागि सुझाव दिने अवसरको दिन गाउँ गाउँमा संविधान कै चर्चा चलेको छ । चिया पसलदेखि वल्लोपल्लो घरका छिमेकी समेत मस्यौदाका बारेमा छलफल गर्दै चित्त नबुझेको कुराको सुझाव दिनैपर्ने छलफलमा सक्रिय छन् ।
अनन्तलिङ्गेश्वर नगरपालिका ६ सिरुटारका भूपाल गिरीको चिया पसलमा बिहान ५ बजेदेखि नै संविधानका मस्यौदा कै बारेमा छलफल भएको छ । चिया खाने बाहनामा पसलमा भेला भएकाहरुले मस्यौदाका बुँदामा छलफल गर्न थालेपछि निकैबेर भीड जम्मा भयो ।
सिरुटारमा मात्रै होइन, ३ दिनदेखि गाउँगाउँमा संविधानको मस्यौदाका बारेमा बृहत छलफल भएको छ । सिरुटारका भाइकृष्ण श्रेष्ठ संविधानको मस्यौदा ल्याएर टोलछिमेकलाई समेत सुनाएको बताउँदै सुझाब संकलन कार्यक्रममा लिखित सुझाब दिने तयारीमा रहेको बताउनुहुन्छ ।
भक्तपुर क्षेत्र नं. १ को भक्तपुर नगरपालिका, महामञ्जुश्री नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिकाका नागरिककका लागि आज कमलविनायकमा ११ बजेदेखि सुझाब संकलन कार्यक्रम राखेको छ । 
त्यस्तै क्षेत्र नं. २ को अनन्तलिङ्गेश्वर नगरपालिका, सुर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका नागरिकका लागि भने भोली ५ गते ११ बजे मध्यपुरथिमिको यचु पार्टी भेनूमा सुझाब संकलन कार्यक्रम राखिएको छ । 
प्रमुख जिल्ला अधिकारी तोयम रायाले दुईदिन कार्यक्रम राखेको भएपनि जिल्लाभरीका नागरिकले आफूले चाहेको ठाउँमा आएर आज र भोलि सुझाब दिन सक्ने व्यबस्था गरेको बताउनुहुन्छ ।
भक्तपुर नगरपालिका कमलविनायकका राधेश्याम खर्वुजाले हिजो मात्रै टोलमा एउटा मस्यौदा आएपछि पाँच घण्टा मुख्य मुख्य बुँदामा छलफल गरेर लिखित सुझाव तयार पारेको बताउनुभयो । रोपाई हुने गरि पानी पर्न छाडेपछि फुुर्सद भएकै कारण भक्तपुरका बासिन्दाले मस्यौदामाथि छलफल गर्न भ्याएका छन् । 
भक्तपुरका बासिन्दाले मुख्यतया प्रदेश ६ मा झार्नुपर्ने, जातीय नाममा प्रदेशको नामाकरण गर्न नहुने, सीमांकन गर्दा हिमाल, पहाड र तराईलाई विभाजित हुनेगरी गर्न नहुने, आमाको नाममा पनि नागरिकता दिने व्यबस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क हुने व्यबस्था गर्नुपर्ने, हिन्दू राज्यको पहिचान मेटिन नहुने, स्वदेशमै रोजगारीको व्यबस्था हुनुपर्ने जस्ता सुझाव दिने तयारी गरेका छन् । 
गाउँगाउँमा संविधानको पर्याप्त मस्यौदा नपुगे् पनि गएका जति मस्यौदाका बारेमा भने टोलटोलमा छलफल भएर समूहगत रुपमै सुझाब संकलन गरेका छन् । 

Post a Comment

 
Top