बारा, साउन ३ - बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा जग्गाको विषयलाई लिएर झडप हुँदा चार जना घाइते भएका छन् ।

पूर्व सभासद एवम् सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष शिवचन्द्र कुशवाहा र एकीकृत नेकपा माओवादीका नेता रामबाबु यादव समूहबिच जग्गाको स्वामित्वको विषयलाई लिएर भएको झडपमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । 
झडपमा स्थानीय जादोलाल चौरसिया, मुक्ति नारायण चौरसिया, सुरेश चौरसीया र गम्भीरा साह घाइते भएका हुन् । उनीहरुको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वमा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिएको छ । झडपका क्रममा पाँच वटा घरमा तोडफोड पनि भएको छ । 
कुशवाहा पक्षले आफनो जग्गामा घर निर्माण गरेको भन्दै स्थानीय लालदेव राउत बरै, राजदेव कुशवाहा र बालसुनर महतोको घरमा तोडफोड गर्न थालेपछि यादव समूहले त्यसको प्रतिकार गर्दा झडप भएको प्रहरी नायव उपरीक्षक  रेग्मीले बताउनुभयो । यादव समूहले पनि स्थानीय हस्मुल्लाह पान पसल र  विजय स्वर्णकारको कपडा पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ । 
यादव समूहका व्यक्तिहरुले कृपा दैनिक पत्रिकाका बरियारपुर संवाददाता नरेश गुप्ताले कुशवाहा समूहको ज्यादतीको फोटो नखिचेर एकतर्फी रुपमा आफूहरुको मात्रै फोटो खिचेको भन्दै गुप्ताको क्यामेरा खोसेर लगेको छ । समाचार संकलन गर्ने क्रममा यादव समूहले आफुसँग दुर्व्यवहार गरेर क्यामेरा खोसेर लगेको पत्रकार गुप्ताले बताउनुभयो । 
स्थानीयवासिन्दाका अनुसार झडपका क्रममा कुशवाहा पक्षले तीन राउण्ड गोली चलाएको बताए पनि प्रहरीले भने गोल नचलेको स्पष्ट पारेको छ । स्थानीय १४ जना व्याक्तिले २०÷२५ वर्ष पहिले नै विष्णु आचार्यसँग चार कठठा १० धुर जग्गा खरिद गरेर घर बनाइ बस्दै आएको भएपनि कुशवाहाले भने आचार्यसँग आफूले जग्गा खरिद गरेको र त्यो जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् ।  

Post a Comment

 
Top