३१ असार, काठमाडौ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा ६ सय मेगावाट विद्युत थप्ने घोषणा गरेपछि स्वर्य उर्जा मन्त्रालय नै आश्चार्यमा परेको छ । सरकारले ३०७२/७३ मा सय मेगावाट थपेर जडित क्षमता १४२८ मेगावाट पुर्याउने लक्ष्य तय गरेको छ । आगामी आवको बजेट पुस्तिकाको अनुसूची १८ मा ६ सय मेगावाट थप हुने उल्लेख छ । कुन आयोजना सम्पन्न भएर यो लक्ष्य पूरा हुन्छ भन्ने कतै उल्लेख छैन, कारोबार दैनिकमा खबर छ । जबकी आगामी आवमा ३० मेगावाटको चमेलियाबाहेक कुनै पनि आयोजना सम्पन्न हुने देखिदैन । विद्युत प्राधिकरणले समयमै समस्या समाधान नगरेर चमेलिया पनि सम्पन्न नभई शून्य हुने सम्भावना त्यत्तिकै छ । पुस्तिकामा हाल ८१८ मेगावाट जडित क्षमता रहेको उल्लेख छ । ६ सय मेगावाटको विषयलाई लिएर उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले आश्चार्य प्रकट गरे । आगामी असारसम्म सम्पन्न हुने आशा गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना भूकम्पका कारण एक वर्ष ढिलो हुने उनले बताए । सरकारले ६ सय मेगावाट विद्युत थपेर हिउँदमा लोडसेडिङ ८घण्टामा सीमित गर्ने लक्ष्य लिएको छ । चालू वर्ष विद्युतको माग बढेर १२९१ मेगावाट पुगेको छ । विनासकारी भूकम्पले क्षति पुर्याएपछि सिन्धुपाल्चोकको ४५ मेगावाटको माथिल्लो भोटेकोसी, १० मेगावाटको सुनकोसी लगायत १० आयोजना बन्द हुँदा राष्ट्रिय प्रणालीमा ८० मेगावाट विद्युत आपूर्ति कम हुँदा दैनिक ६ देखि ७ घण्टा हाराहारीमा लोडसेडिङ भइरहेको छ ।

Post a Comment

 
Top