काठमाडौ, असार २८ - अफगानिस्तानलाई एसोसिएट क्रिकेटको उत्कृष्ट टोलीमा गनिन्छ । एकै महाद्धिपमा भएका कारण अफगानिस्तानसँग नेपालको नियमीत जस्तो आमने सामने भइरहेको छ । आयरल्यान्ड पूर्ण राष्ट्र बाहिर अर्को बलियो टोली हो । त्यसैले विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्डसँग खेल्न उत्रदा नेपालले इतिहासमै ठुलो चुनौतीको सामना गर्नेछ ।
आयरल्यान्ड यसै प्रतियोगितालाई आधार बनाएर चारपटक ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको छ । लगातार तेस्रो पटक प्रतियोगिता जित्ने लक्ष्यमा छ । पछिल्लो समयमा नेपालले पनि माथिल्लो स्तरमा खेलिरहेको प्रशिक्षक पुबुदु दसानायके र कप्तान पारस खड्काको दाबी छ । त्यही भएर नेपाललाई एक नम्बरमा पुर्‍याउने उनीहरुको लक्ष्य छ ।
‘आयरल्यान्ड यस समूहमा कठिन प्रतिद्वन्द्वी हो, तर हाम्रो लक्ष्य नम्बर एक टोली बन्नु हो,’ प्रशिक्षक दसानायके भन्छन्, ‘यस्तो अवस्थामा हामी कहाँ उभिएका छौं भन्ने थाहा पाउन यो राम्रो परिक्षा हो । उनीहरुलाई पराजित गर्न हामीले पुरै ४० ओभर स्तरीय क्रिकेट खेल्नु पर्नेछ ।’ नेपाली टोली युरोप भ्रमणमा निस्कनुअघि दसानायके र पारसले विश्वकपमा छनोट नभइ प्रतियोगिता नै जित्ने उद्धेश्य रहेको बताएका थिए । आयोजक आयरल्यान्डसँगको खेल अघि प्रशिक्षकलाई यही भनाई दोहर्‍याएका हुन् ।
गत वर्ष नेपाल यही प्रतियोगितामा तेस्रो हुँदैं विश्वकपमा छनोट भएको थियो । बंगलादेशमा विश्व ट्वान्टी–२० खेल्नुअघिको अभ्यास खेलमा आयरल्यान्डले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । आधिकारिक खेलमा नेपाल र आयरल्यान्ड पहिलो पटक राष्ट्रिय टोलीको कुनै पनि संरचनामा पहिलो पटक आमने सामने हुन लागेका हुन् ।
तर आयरल्यान्डका ब्याट्सम्यान एन्डी बालब्रिन नेपाल बारे जानकार छन् । उत्तरी आयरल्यान्ड पुग्नु अघि नेपालले इङ्ल्यान्डमा चार तयारी खेल खेलेको थियो । त्यसमा मिडलसेक्स ११ बाट खेल्दै बालब्रिनले नेपालविरुद्ध ४५ बलमा ७२ रन बनाएका थिए । उनीसँगैं अधिकांश आयरल्यान्डका खेलाडीहरु इङलिस काउन्टीमा खेल्छन् ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता बोकेको नेपालको नवौं खेल हुनेछ । नेपालले यसअघिका ८ मान्यता प्राप्त खेलमा ३ मा विजय र ५ मा हार बेहोरेको छ । नेपालले हालै नेदरल्यान्ड्ससँग चार खेलको शृंखला ३–१ ले गुमाए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकेको आठ खेल खेल्दै विश्व वरीयतामा प्रवेश गरेको थियो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विनोद भण्डारी, सागर पुन लगायत नेपाली ब्याट्सम्यानको प्रदर्शन निकै फितलो रहेको छ । आयरल्यान्डकै खेलबाटै विनोद र सागरले लय समात्न सके त्यो नेपालको हितमा पनि हुनेछ । सागर नियमीत जस्तो पहिलो ओभरमै आउट हुँदा नेपालले युरोप भ्रमणमा कुनै पनि खेलमा राम्रो सुरुआत गर्न सकेको छैन ।
नेपाल र आयरल्यान्डको खेलले समूह ‘ए’ को शीर्षको पनि निक्र्यौल गर्नसक्छ । आयोजक टोलीमाथी विजय हात पारे नेपाल फेरि समूह ‘ए’ को अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ । आयरल्यान्डले पहिलो २ खेलमा नामिबियालाई ७ विकेटले र आइतबार अमेरिकालाई ४६ रनले पराजित गरी शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । तर नामिबियासँग शनिबारको खेल वर्षाका कारण रद्ध भएको थियो ।
स्टोरमोन्टमा सोमबार पनि वर्षा हुने अनुमान गरिएको थियो । बिहान वर्षा भए पनि दिउसो नेपाल र आयरल्यान्ड बीचको खेल पछिल्लो स्थितिमा मौसमले प्रभाव नपार्ने सम्भावना देखिएको छ ।
 

Post a Comment

 
Top