नवलपरासी, साउन ३ – पश्चिमाञ्चलमा गएको आर्थिक वर्ष (२०७१/०७२) मा दुर्घटनामा परी ४ सय ४८ जनाको ज्यान गएको छ । पश्चिमाञ्चलमा गएको आर्थिक वर्षमा भएका ८ सय ८२ वटा दुर्घटनामा परी ४ सय ४८ जनाको ज्यान गएको पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटलवलले जनाएको छ ।
पश्चिमाञ्चलका १६ जिल्लामध्ये नवलपरासीमा सबैभन्दा धेरै दुर्घटना भएको र धेरै जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नवलपरासीमा मात्रै गएको आर्थिक वर्षमा दुईसय सात वटा दुर्घटना भएको र त्यसमा परी एकसय एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपरासीमा बढी दुर्घटना हुनुमा लामो राजमार्ग, धेरै सवारी साधन र  बाटो छेउमा बाक्लो बस्ती हुनु मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाई छ ।
पश्चिमाञ्चलको रुपन्देहीमा गएको आर्थिक वर्षमा १ सय २० दुर्घटनामा  भएकोमा ८३ जनाको ज्यान गएको छ । यस्तै कपिलबस्तु, कास्की, तनुहँ, म्यादी, पाल्पा र गोरखामा पनि दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै रहेको प्रहरीको भनाई छ ।
दुर्घटना  कम  हुने जिल्लामा मनाङ छ । मनाङमा एउटा दुर्घटना मात्र भएको र त्यसमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै मुस्ताङमा गएको आर्थिक वर्षमा भएका पाँच सवारी दुर्घटनामा चार जनाको ज्यान गयो । दुर्घटना हुनेमा साना सवारी साधनको संख्या बढी छ । दुई सय ८३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्  ।
२०७०/०७१ को तुलनामा दुर्घटनाको संख्यामा बढे पनि ज्यान जानेको संख्या भने घटेको छ । आर्थिक वर्ष २०७०/०७१ मा ६ सय ५ वटा दुर्घटना भएपनि ज्यान जानेको संख्या भने गएको आर्थिक वर्षमा भन्दा १७ जना धेरै अर्थात ४ सय ६५ जना थियो ।

Post a Comment

 
Top