उजीर कार्की/उज्यालो । काठमाडौं, साउन ३ - ‘सरकार ! म बाँच्न चाहन्छु, यो नर्कबाट नेपाल आउन चाहान्छु ।’ केही समयअघि फेसबुकमा यस्तो अनुरोध 
लेखिएको स्टाटस देखियो ।
दलालले सिरिया पुर्‍याएकी नेपाली चेली गेनुरेश्मी थापा मगरले यो अनुरोध गर्दै स्टाटस लेख्नु भएको थियो । गेनुरेश्मीले आफूलाई सिरिया पुर्‍याउने दलालको नाम र फोन नम्बरसहित कारवाहीको माग गर्दै नेपाल फर्काउन फेसबुकबाटै आग्रह गर्नुभएको थियो । 
फेसबुकबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)सम्म पनि यो कुरा पुग्यो । त्यसैलाई आधार मानेर प्रहरीले उहाँलाई सिरिया पुर्‍याउने दलाल पर्वतको उरामपोखरा–६ का शोभाकान्त भट्टराईलाई असार २२ गते काठमाडौंको चाबहिलबाट पक्राउ गर्‍यो । 
तर बुटवलको शंकरनगर–३ घर बताएर उद्धारको अनुरोध गर्ने गेनुरेश्मीको भने कुनै पत्तो छैन् । कोहीसँग सम्पर्क छैन । गेनुरेश्मी नेपाल फर्कन नसक्दा अदालतको बयान रोकिएको छ । मानव बेचविखन तथा ओसारपसारका घटनामा पीडित स्वयं अदालतमाउपस्थित भएर बयान दिनुपर्ने भएकाले दलाललाई कारवाहीको प्रक्रिया अघि बढ्न नसकेको हो ।
सिरियामा अलपत्र गेनुरेश्मीको उद्धारमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । दलाल भट्टराईले गेनुरेश्मी थापा मगरसहित संगिता र पूजा तामाङलाई सिरिया पुर्‍याएको भएपनि पीडितहरुको पत्ता लाग्न सकेको छैन् ।
दलाल भट्टराईले २५/३० जना युवती कुवेत, १०/१५ जना युएई र ३ जना युवती सिरिया पठाएको अनुसन्धानबाट पत्ता लागेको सिआइवीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले वताउनुभयो ।
उहाँका अनुसार दलालको साथबाट युवतीहरुको राहदानी ४ थान, बिभिन्न युवतीहरुको नाममा जारी भएको प्रहरी रिपोर्ट १५ थान, मेडिकल रिपोर्ट १२ थान, बिभिन्न व्यक्तिहरुको नाममा जारी भएको भिषा २० थान, बिभिन्न युवतीहरुको फोटो २३ थान बरामद भएको छ । घटनामा संलग्न अन्य फरार दलालहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

गेनुरेश्मीको फेसबुक अपिल 

सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट नेपाल आउन चाहान्छु’ मेरो नाम गेनुरेश्मी थापामगर हो । मेरो स्थाई घर बुटवल शंकरनगर–३ हो । अहिले म मर्नु न बाँच्नुको अवस्थामा सिरियामा छु । घरमा मेरो बृद्ध अवस्थाका बाबु–आमा हुनुहुन्छ । मेरी बहिनी र मैले ऋण काडेर बुटवलमा सानो ब्युटी पार्लर सञ्चालन गरेका थियौं ।
त्यही सिलसिलामा बुटवल प्रगतिनगर निवासी शोभाकान्त भट्टराईसँग मेरो चिनजान भयो । उनले म राम्रो म्यानपावरको एजेण्ट हुँ । दुबईको राम्रो कम्पनीको भिसा छ । तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन सक्छौ भनेर प्रलोभन देखायो । मैंले आफ्नो आर्थिक स्थिति सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सकिन्छ कि भन्ने आशमा शोभाकान्तमार्फत दुवई जाने निर्णय गरेँ । 
पसल बहिनीको जिम्मामा छाडें । मेरा सबै कागजात शोभाकान्तलाई जिम्मा लगाएँ । कागजात जिम्मा लगाएको एक महिनापछि ल भिसा आयो तिमीहरु चार जना एउटै कम्पनीमा जानु पर्छ भनेर अरु तीनजना पनि लिएर आयो । पछि नेपालबाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारतको दिल्ली जानुपर्छ भन्यो ।  हामी दिल्ली जान बाध्य भयौं । त्यहाँ हामीले अर्को दलाल पन्चु लामालाई भेट्यौं । उ पनि शोभाकान्त जस्तै दलाल रहेछ । 
२०१३ मे ८ मा हामीलाई दुबई भन्दै दिल्लीबाट उडायो । तर हामीलाई दुबई नपठाई मे १२ मा सिरिया पुर्‍यायो । यहाँको एजेन्सीलाई ६ हजार डलरमा बेचेको रहेछ । म अहिले यहीँको सिरियनको घरमा बिहान ४ बजेदेखि रातिको १२ बजेसम्म अनेकौं पिडा, दुर्ब्यवहार सहेर बसेको छु । छातीमा घाउ भएर दुई पटक अप्रेसन गर्दा पनि ठिक भएको छैन ।
हर दिन रगत र पिप बगिरहेको छ । दुखाई कम गर्ने र सुकाउने औषधिको भरमा मृत्यु कुरिरहेकी छु । घर जान्छु भन्दा ६ हजार डलरमा किनेको हो जान पाईदैन भन्दै यातना दिन्छ । आजसम्म मोबाईलको सिम पाएको छैन् । आफूले ल्याएको मोबाईलमा वाइफाइबाट इन्टरनेट चलाएर चित्कार यहाँसम्म पुर्‍याएको हुँ ।
म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरियामा मर्न चाहान्न र दलाललाई कडा सजाय भएको हेर्न चाहान्छु । कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक अनुरोध गर्दछु । 

Post a Comment

 
Top