काठमाडौं, साउन ३ – भूकम्प अति प्रभावित जिल्लामा बाटोघाटोका कारण औषधी पुर्‍याउन कठिनाई भएको छ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ गोरखा र दोलखाको उत्तरी क्षेत्रमा लगातार पहिरो र सडकमाथिबाट ढुंगा खसिरहेकाले औषधी र उपचारमा प्रयोग हुने उपकरण लैजान नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भूकम्प अति प्रभावित जिल्लाका लागि भनेर औषधी स्टकमा राखेपनि पुर्‍याउन नसकिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । सिन्धुपाल्चेकको मांखा, बाह्रबिसे, तातोपानी लगायतका ठाउँमा धेरै समस्या देखिएको उहाँले बताउनुभयो । यस्तै बाटोकै कारण रसुवाको सदरमुकामसम्म पनि औषधी पुर्‍याउन सकिएको छैन ।
महाशाखाका अनुसार  वर्षाको समय भएकाले स्थल र हवाई दुवै मार्गबाट औषधी पुर्‍याउन सकिएको छैन । बाटोघाटोकै कारण यी जिल्लामा खोप अभियान समेत प्रभावित हुने आशंका गरिएको छ । सरकारले यो महिनाको तेस्रो हप्तादेखि भूकम्प अति प्रभावित जिल्लामा खोप अभियान चलाउने तयारी गरिरहेको  छ ।

Post a Comment

 
Top