पर्वत, साउन ३ – संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने धेरै नागरिकले धर्म निरपेक्षताको विरोध गरेका छन् । सुझाव संकलन गर्न पर्वतको सूदुरदक्षिणमा पर्ने रानीपानी पुगेको सभासद सहितको टोलीसँग शनिबार भएको छलफलमा  सर्वसाधरणले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न माग गरेका हुन् ।
नेपाली समाजमा ८० प्रतिशत हिन्दु धर्मालम्बी भएकाले नेपालमा धर्म निरपेक्षता कायम हुन नसक्ने धारणा सहभागीहरुको थियो । रानीपानीको सुझाव संकलन कार्यक्रममा ९० प्रतिशत भन्दा बढी सहभागीले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह नै गर्नुपर्ने सुझाव दिएका छन् ।
‘नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ’ सुझाव दिँदै वहाकी गाबिसका नामदेव भुसालले भन्नुभयो ‘धर्म निरपेक्षता वा हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने विषय टुंगो लगाउन जनमत संग्रह गर्न आवश्यक छ ।’ सुझाव संकलन कार्यक्रममा बोल्दै रानीपानीका मुकुन्द पराजुलीले धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग गर्नुभयो । ‘धर्म निरपेक्षता हुनै सक्दैन, अहिले बनाएपनि यसले पछि ठुलो द्वन्द्व निम्ताउँछ’ उहाँले भन्नुभयो ‘धार्मिक स्वतन्त्रता कायम राखेमा बिबाद कम भएर जान सक्छ ।’
धर्म निरपेक्षता बाहेक पर्वतका नागरिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएका छन् । संविधानको मस्यौदामा अख्तियारको अधिकार कटौती गर्न थालिएकोप्रति असहमति जनाउँदै अख्तियारले मुलुकका सबै निकायमा हुने अनियमितता र भ्रष्टचारको बारेमा अनुसन्धान र कारवाही गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न उनीहरुको आग्रह थियो ।
अहिलेसम्म गैह्रसरकारी संस्था, संवैधानिक निकाय र राज्यका उच्च पदस्थ व्यक्ति माथि छानबिन हुन नसकेकोले संविधानमै  अख्तियारको अधिकार क्षेत्र बढाउनुपर्ने गाउँलेको सुझाव छ । नागरिकले दिएका सुझावहरुलाई जस्ताको तस्तै पु¥याउने सभासद विकास लम्सालले प्रतिबद्धता जनाउनुभयो ।

Post a Comment

 
Top