जनकपुरधाम, साउन ४ - संविधानको मस्यौदामाथि सुझाव संकलनको क्रममा जनकपुरधाममा झडप भएको छ । झडपका क्रममा २० जना घाइते भएका छन् ।
मस्यौदामाथि सुझाव संकलन गर्न धनुषा क्षेत्र नम्बर ४ का नागरिका लागि उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रममा भइरहेका बेला मस्यौदाको विरोधमा रहेका मधेसवादी दल र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा घाइते भएका मध्ये मधेस अधिकार संरक्षण समितिका सुशील कर्णको अवस्था गम्भीर रहेकाले उपचारका लाग काठमाडौं पठाउन लागिएको जनकपुरमा अञ्चल अस्पतालले जनाएको छ । अरु घाइतेको भने जनकपुरमा अञ्चल अस्पतालमा नै उपचार भइरहेको छ । झडपका कारण जनकपुरधामको शिव चोक र भानु चोक क्षेत्र तनावग्रस्त बनेको छ । 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाहेकका सबै मधेसवादी दल, नेकपा माओवादी र मधेस अधिकार संरक्षण समितिका कार्यकर्ताहरु सुझाव संकलन गर्ने ठाउँमा प्रवेश गर्न खोज्दा झडप भएको हो ।
मस्यौदाको विरोधमा रहेका र मस्यौदा जलाउँदै आएका दल तथा समूहका कार्यकर्तालाई प्रहरीले सुझाव संकलन गर्ने ठाउँमा प्रवेश दिएको थिएन । झडपपछि अहिले सुझाव संकलनको काम रोकिएको छ । सुझाव संकलनको काममा अवरोध गर्नका लागि मधेस अधिकार संरक्षण समितिले जनकपुर बन्द समेत गरेको छ ।

Post a Comment

 
Top