ठेकेदार कम्पनीले भूकम्पबाट काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै सम्बन्धित आयोजनामा सूचना दिएर कामदारलाई स्वदेश फर्काएका थिए । भूकम्प भोगेका कामदार आएर पुन: काम थाल्ने सम्भावना कम छ ।
रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक माधव कोइरालाले भूकम्पअघि काम गरिरहेका कामदारले पुन: आएर काम गर्न नसक्ने बताएको जानकारी दिए । ‘भूकम्पलगत्तै उद्धार गर्न नसक्दा तीन दिनसम्म कामदार आयोजनास्थलमै थुनिएकाले पनि उनीहरू आउन नमानेको ठेकेदार कम्पनीले बताइरहेका छन्,’ कोइरालाले भने, ‘पुन: भूकम्प गएमा कसले उद्धार गर्छ भन्दै उनीहरू आउन मानेका छैनन् ।’
भूकम्पले रसुवागढी आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको मृत्यु भएको थियो । आयोजनामा भूकम्प आएको दिन साढे दुई सयभन्दा बढी चिनियाँ मजदुरले काम गरेका थिए । सो आयोजना चिनियाँ सीमानजिकै पर्छ । नेपालका तर्फबाट तत्काल उद्धार हुन नसकेपछि चीनको टोलीले उनीहरूको उद्धार गरेको थियो । सो आयोजनामा काम गर्ने अधिकांश कामदारको पासपोर्ट हराएकाले झनै समस्या भएको छ । ठेकेदार कम्पनी सिडब्लुईका निर्माण उपकरणमा पनि क्षति पुगेको छ ।

Post a Comment