४ साउन, काठमाडौँ । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै बैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले कीतिपुरमा जनमत सङ्कलन कार्यमा अवरोधको प्रयास गरेका छन् ।
सोमबार कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत सङ्कलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन् ।
पूर्व सभासद् पार्वती थापामगर नेतृत्वको टोलीले संविधानमा सबै पक्षको भावनालाई सम्बोधन नगरिकन संविधान जारी गर्न खोजिएकाले आफूले मस्यौदा च्यातेको जानकारी दिइन् ।
चार दलले आफ्नो स्वार्थलाई हेरेर मात्रै संविधानको पहिलो मस्यौदा ल्याएको, महिला आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायको भावनालाई सम्बोधन नगरेको मगरको आरोप छ ।
माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजे पनि सुरक्षाकर्मीको उपस्थितिमा जनमत सङ्कलन कार्य भने जारी रहेको छ । रासस

Post a Comment

 
Top