४ साउन, काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलनका प्रधानमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा एक रात बास बस्ने भएका छन् ।  बाँके जिल्लाको क्षेत्र नं ३ स्थित भेरी प्राविधिक शिक्षालयमा प्रधानजमन्त्री सुशील कोइराला सोमबार बिहान ११ बजे सुझाव संकलन समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले अनलाइनखबरसँग भने- ‘बाँकेमा सुझाव संकलनका लागि प्रधानमन्त्री आज उतै बास बस्ने र मंगलबार मात्रै राजधानी र्फकने कार्यक्रम छ ।’ सरकारले सुझाव संकलन अभियानका लागि सोमबार र मंगलबार दुई दिन सरकारी विदा घोषणा गरेर देशभरि एकैसाथ सुझाव संकलन गरिरहेको छ । संविधानको मस्यौदाप्रति असन्तुष्टि राख्दै आएका मधेसवादी दलले जनकपुरलगायतका क्षेत्रमा अवरोध पुर्‍याए पनि अन्यत्र शान्तिपूर्णरुपमा कार्यक्रमको तयारी भइरहेको छ । बिराटनगरबाट ध्रुब भट्टराईले दिएको जानकारी अनुसार ९ वटा चुनाव क्षेत्र रहेको मोरङमा आइतबार दुई स्थानमा सुझाव संकलन भइसकेको छ भने सोमबार र मंगलबार १९ स्थानमा सुझाव संकलन हुनेछ । आइतबार आयोजित कार्यक्रममा मधेसवादी दलले अवरोध नगरेको र शान्तिपूर्णरुपमा कार्यक्रम सम्पन्न भएको मोरङ जिल्ला प्रशासनले जनाएको छ । उता भैरहवा र कपिलवस्तुमा पनि मधेसवादी दलले अवरोध गर्न सक्ने आशंकामा सुरक्षा प्रवन्ध दह्रो बनाइएको स्थानीय प्रशासनलाई उधृत गर्दै अनलाइनखबरकर्मी सलमान खानले जनाएका छन् । रौतहटको गौरमा भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी कार्यक्रममा सोमबार विहानै सामान्य झडप भएको छ ।

Post a Comment

 
Top