म्याग्दी, असार ३० – माछापालनको सम्भावना बोकेको म्याग्दीमा यसवर्ष ७० हजार भन्दा बढी माछाका भुरा वितरण भएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले ७० हजार ४ सय ५० माछाका भुरा किसानलाई सहुलियत दरमा वितरण गरिएको हो ।
चालु आर्थिक वर्ष २०७१/७२ को कृषि प्रसार कार्यक्रम अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट भुरा ल्याई सहुलितमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिभुरा ५० पैसाका दरले खरिद गरी वितरण गरिएको हो । गएको वर्ष ५६ हजार बढी माछाका भुरा वितरण गरिएको थियो भने यसवर्ष किसान र पोखरीको संख्या बढेका कारण उनीहरुको माग अनुसार माछाका भुरा धेरै वितरण भएको हो । बढ्दो विदेश पलायनलाई रोकी स्वदेशमै रोजगार सिर्जना गर्नेगरी युवाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले माछापालन कार्यक्रमलाई बिस्तार गरिएको म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
यो आथिर्क वर्षमा ३ पटकसम्म माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो । म्यागदीमा साना तथा ठुला गरी अहिलेसम्म ७६ वटा पोखरीमा माछापालन हुने गरेको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिनुभयो । ४९ घर परिवारले व्यवसायिक रुपमा माछापालनका गरिरहेको उहाँले बताउनुभयो । जिल्लाको एक नगरपालिका र १५ वटा गाविसमा माछापालन हुने गरेको छ । बेनी नगरपालिकासहित भकिम्ली, बाबियाचौर, दरबाङ, ताकम, मुना, पात्लेखेत, पिप्ले, भगवती, वेग, भूरुङ–तातोपानी, नारच्याङ लगायतका गाविसमा माछापालन हुने गरेको छ । म्याग्दीमा कमनकार्प, ग्रासकार्प, माहुर र रेन्बो ट्राउट जातका माछाहरु किसानले पाल्दै आइरहेका छन् । यसै वर्षदेखि उत्तरी म्याग्दीको भूरुङ–तातोपानी गाविसमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको प्राविधिक सहायक खड्काले जानकारी दिनुभयो । म्याग्दीमा अहिले वर्षको ३ दशमलव ७५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

Post a Comment

 
Top