काठमाडौँ, १ साउन । नेपाल विद्यार्थीे संघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णमाथि मंगलबार बिहान क्रमण भयो । उनलाई हाडीगाउँस्थित निवासबाट बाहिरिने क्रममा मोसोमात्रै दलिएन, जुत्ताको मालासमेत लगाइयो । घटनापछि संघको छविमात्रै धमिलिएन । बिपीको सिद्धान्तमा चल्ने संगठनको बिग्रेको चाला पनि छरपष्ट भयो । कर्णलाई मोसो दलिएको घटनाको सर्वत्र विरोध भइरहेको छ । घटनामा कांग्रेस केन्द्रीय सदस्य गगन थापा र नेविसंघकै पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेको संलग्नता रहेको आरोप अध्यक्ष कर्णले लगाए । काफ्लेसहित ११ विरुद्ध त उनले किटानी जाहेरी नै दिइसकेका छन् । घटनाको पाँच दिन बितिसक्दा प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख भएकामध्ये भूपेन्द्र श्रेष्ठलाई मात्रै पक्राउ गरेको छ । घटनापछि यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन् ।

 प्रकरणको उद्गम कर्ण आफैँ

 ०६८ माघमा नेपाली काँग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिँदा कर्णसामु ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने जिम्मेवारी थियो । नेविसंघ अध्यक्ष भएको ठीक ३ वर्ष ५ महिना र एक साता पुगिसक्दा पनि कर्णले नेविसंघको महाधिवेशन गराउन सकेनन् । आधा दर्जन भन्दा बढी पटक महाधिवेशनको मिति तय गरेर स्थगन गर्दा पनि कर्ण पुरस्कारको भागिदार नै भए । संविधानसभाको दोस्रो निर्वाचनपछि काँग्रेसले उनलाई समानुपातिकबाट सभासद् बनाए । कर्ण पुरस्कृत भएको कुरालाई नेविसंघ र नेपाली काँग्रेसमा निकै आलोचनाका साथ टिकाटिप्पणी गरिएको थियो । पार्टीमा रहेका धेरै सिनियर युवा नेतालाई पन्छाएर सभासद् बन्न कर्ण सफल भए । मधेसी हुनुको मात्रै नभएर सभासद् नदिए मधेसी पार्टीमा जाने धम्कीसमेत दिएका कारण कर्ण सभासद् बन्न सफल भए । महाधिवेशनको पक्षमा रहेका र पार्टीभित्र संस्थागत प्रणालीको पक्षमा रहेका पार्टी नेतृत्वसँगमात्रै रुष्ट थिएनन् । रञ्जितको विपक्षमा पनि थिए ।

आर्थिक अनियमितता 

 मोसो प्रकरणभन्दा पहिल्यै नै कर्णमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको थियो । महाधिवेशन उद्घाटनको अघिल्लो दिन महाधिवेशन स्थगन हुनुअघि कर्ण र उनका कार्यकर्ताले चन्दा आतंक नै मच्चाएका थिए । अहिले पनि कर्णसँग अधिकांश कार्यकर्ताले महाधिवेशनमा उठाएको चन्दाको हिसाबकिताब माग्ने गरेका छन् । त्यसबाहेक भर्ना, छात्रवृत्ति, सम्बन्धनलगायतका विषयमा पनि कर्णले अनियमितता गरेको र आफूनिकटकालाई नेविसंघ ‘मागी खाने भाँडो’ का रुपमा प्रयोग गर्न दिएको आरोप लाग्दैछ ।

 अंग्रेजी कलेजबाट लाखौँ आम्दानी 

 नेविसंघ अध्यक्ष भएपछि महाधिवेशन गर्न कुनै ध्यान नदिएपनि कर्णले आफैँ नेतृत्व गरेर अँग्रेजी नाम भएका कलेज तोडफोड गरेका थिए । नेपाली नाम राख्नुपर्ने भनेर उनले अँग्रेजी नाम भएका कलेज तोडफोड गरेर सहमतिका नाममा लाखौँ रुपैयाँ कुम्ल्याएका थिए । रकममा कुरा मिलेपछि आन्दोलन यथास्थितिमा रोकिएको थियो ।

 नगद साथमा, चिठी हातमा

 नेविसंघ अध्यक्ष कर्णलाई लागेको अर्को आरोप ईकाई अध्यक्ष, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य पदको व्यापार । विवाद नै नभएका कलेज र जिल्लामा पनि उनले चिठी थमाउँदै अध्यक्षको कार्यभार सुम्पने गरेका थिए । त्यस्तो काम नगद कारोबारपछि मात्रै गर्ने गरेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार कर्णले प्रत्येक ईकाई अध्यक्षका लागि ५० हजार, जिल्ला अध्यक्षका लागि एक लाख र केन्द्रीय सदस्यका लागि तीन लाख रुपैयाँ नगद लिने गरेका थिए । पछिल्लो समय केन्द्रीय सदस्य मनोनीत गणेशदत्त शर्मालगायतले कर्णसँग मोटै रकम र रक्सीको कारोबार गरेको बताइन्छ ।

 कसले दल्यो मोसो ?

 कर्णले आफूमाथिको आक्रमणमा गगन थापा र कुन्दन काफ्लेको संलग्नता रहेको बताए पनि नेपाल इन्जिनियरिङ क्याम्पस भक्तपुरका विद्यार्थीले आफैँले कर्णलाई मोसो दलेको स्वीकार गरिसकेका छन् । भक्तपुरको रफत् सञ्चार क्लबमा पत्रकार सम्मेलन गरेर कर्णको ज्यादती र अनियमितता सहन नसकेर कारबाही गरेको सोही क्याम्पसका नेविसंघका नेताहरुले बताइसकेका छन् । घटनाको समयमा काफ्ले आफ्नै निवासमा थिए ।

 घटनाको मूल कारण

 नेपाल इन्जिनियरिङ क्याम्पसमा ०७० वैशाखमा काँग्रेस संगठन विभाग प्रमुख आनन्द ढुंगाना प्रमुख अतिथि र कर्ण स्वयम् विशिष्ट अतिथि भएको अधिवेशनबाट खगेन्द्र कार्की क्याम्पसको नेविसंघ अध्यक्षमा निर्वाचित भएका थिए । मतदानमा कार्कीले ४७ भोट ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी बिजय बरालले २७ भोट पाए । अध्यक्षमै उठेका शमशेर थापाले ८ र रामकृष्ण पाण्डेले १२ मत पाए । आफ्नै सामुन्नेमा निर्वाचनबाट बनेको कार्यसमिति कर्णले ८ महिना नबित्दै भंग गर्ने प्रयास गरे । अधिवेशनको निर्णय लत्याएर कर्णको निर्देशनमा केन्द्रीय सदस्य राजन सिलवालले योगेन्द्र बमलाई अध्यक्षको चिठी दिएपछि विवाद चुलियो । कार्की नेतृत्वकै नेविसंघ क्रियाशील हुँदै आएपछि १८ असारमा कर्णले पुनः भुवन भट्टलाई अध्यक्षको चिठी दिए । त्यसयता कार्कीको पक्षमा रहेका नेविसंघका नेता कार्यकर्ताले कर्णलाई गल्ती सच्याउन माग गरे । कर्णसहित केन्द्रीय सदस्य उत्तम मिश्रले पनि चिठी केही दिनमै फिर्ता लिने आश्वासन दिए पनि पछिल्लो समय कर्ण सम्पर्कविहीन भए । आफूहरुको फोन पनि नउठाएको र निवासमा पुग्दा दुव्र्यवहार गरेका कारण मोसो दलेर जुत्ताको माला लगाइदिएको नेपाल इन्जिनियरिङ क्याम्पसका नेविसंघ नेताले बताइसकेका छन् ।

 मोसोपछि पनि कालै काम

 कर्णलाई मोसो दलिएको घटनाको सर्वत्र विरोध भइरहेको छ । नेविसंघका पूर्वअध्यक्षहरुसहित सबैजसो नेताले कर्णमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे । यद्यपि घटनाको केही घण्टामै आफ्नै पार्टी र ंगठनका नेताको नाम मुछेर वक्तव्यबाजी गरेकोमा भने कर्ण आलोचित बने । नेविसंघ राजनीतिको पृष्ठभूमिमा फरक गुटको प्रतिनिधि भएकै कारण कर्णले गगन थापा र कुन्दन काफ्लेलाई आरोप लगाए । घटनाको पर्याप्त छानबिन नगरी आफ्नै संगठनका नेतालाई कर्णले आरोप लगाउन राजनीतिक प्रतिशोधका रुपमा लिइएको छ । कर्णले काफ्लेविरुद्ध त किटानी जाहेरी नै दिए । अधिकांश कांग्रेसका नेता तथा कार्यकर्ताले बिना छानबिन आफ्नै नेतालाई आरोप लगाएर कर्णले अराजनीतिक काम गरेको आरोप लगाए ।

आरोपित काफ्लेको प्रतिक्रिया

 मोसो प्रकरणमा आफूलाई आरोप लागेपछि नेविसंघका पूर्वकोषाध्यक्षसमेत रहेका कुन्दन काफ्लेले विज्ञप्ति जारी गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाए । नेविसंघभित्र लामो समयदेखि कर्ण र काप्mले पक्षका बीचमा मतभेद रहेको छ । अधिकांश क्याम्पसमा टिके कमिटी बनाउन चाहेका कर्णलाई काफ्लेले सधैँ वैधानिक अधिवेशनको पक्षमा उभिन आग्रह गर्दै आएका छन् । केही समयअघि एड्भान्स इन्जिनियरिङ कलेजमा अधिवेशनको माग गर्दा कर्ण पक्षका कार्यकर्ताले काफ्लेलाई मरणासन्न हुने गरी कुटेका थिए । नेविसंघ भित्रको राजनीतिमा आफ्नो प्रभाव बढेको देखेर प्रहार गरिएको काप्mलेको दाबी छ । ‘नेविसंघको महाधिवेशन गराउन दबाब दिने, संस्थागत र पारदर्शी संगठनको पक्षपोषण गरेका कारण नेविसंघको ठूलो तप्का मेरो पछाडि छ । त्यही तप्का बिच्काउन कर्णले अराजनीतिक हतकण्डा अपनाए,’ काफ्लेले भने ।

काँग्रेसले के गर्दैछ ? 

 यो घटनापछि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेविसंघका केही पूर्वअध्यक्षसँग परामर्श गरे । त्यसक्रममा कोइरालाले मोसो दलिनु गलत भए पनि पार्टीकै बदनामी बढाएको भन्दै कर्णलाई आफ्नै कार्यकर्ताविरुद्धको उजुरी फिर्ता लिन निर्देशन दिने तयारी गर्दैछन् । त्यस्तै, घटनाको विषयमा पार्टी तहमै छानबिन समिति गठन गरी आवश्यक परे नेविसंघ भंग गर्नेसम्मको तयारीमा शीर्ष नेता रहेको बताइन्छ ।

Post a Comment

 
Top